राजनीति


जेनेभा जान विमानस्थलतिर हिँड्न लागेकी परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले रोकिदिए

जेनेभा जान विमानस्थलतिर हिँड्न लागेकी परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले रोकिदिए

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०७९ आइतबार १८:५८, काठमाडौँ

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवार साँझ जेनेभा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएका छन्। 

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको थियो। तर अपरान्ह जेनेभातर्फ जान लागेकी पौड्याललाई प्रधानमन्त्रीले रोकिदिएका हुन्। 

पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफ्नो भ्रमण रोकेको हुन सक्ने उनले बताएकी छन्। 

'क्याबिनेटले मेरो भ्रमण पास गरिसकेको थियो। आज मात्रै डलर पनि साटिसकेकी थिएँ। यहाँबाट जेनेभा पुगेर मानवअधिकार परिषदको बैठकलाई सम्बोधन गर्ने तय भइसकेको थियो। त्यहाँबाट दोहामा आउने कार्यक्रम थियो', उनले नेपालखबरसँग भनिन्, 'त्यसरी कार्यक्रम बनेको थियो। प्रधानमन्त्रीले मलाई भ्रमण स्वीकृति दिनु भएको थियो। म र मन्त्रालयका अधिकारीहरु जाँदै थियौँ। तर अन्तिममा रोकियो।'

उनी जेनेभा जाने कार्यक्रम परराष्ट्रमन्त्रालयमा आइतवार सार्वजनिक गरेर अपरान्ह त्रिभुवन विमानस्थलतिर हिँड्न तयार थिइन्।

तर प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास वैरागीमार्फत पौड्याललाई त्यसतर्फ नजान निर्देशन दिएका थिए।

मुख्यसचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन सुनाउँदै उनलाई त्यसतर्फ नजान भनेका थिए। त्यसपछि आफूलाई अपमानपूर्वक रोकिएको भन्दै जेनेभा नजाने निर्णय लिएको उनले बताएकी छन्।

पुस १० मा बनेको सात दलीय गठबन्धन छाड्दै प्रचण्डले कांग्रेससहितको आठ दलीय गठबन्धन बनाइसकेका छन्।

शनिबार मात्रै प्रचण्डले एमालेले अब सरकार छाड्न सक्ने बताएका थिए। शुक्रबार बालुवाटारमा भएको आठ दलीय गठबन्धनको बैठकमा पनि उनले एमाले सरकारबाट बाहिरिने बताउँदै कांग्रेससहितलाई सत्तामा आउन भनेका थिए।

तर एमालेले शनिबार आगामी फागुन २५ सम्म सरकारबाट नबाहिरिने निर्णय गरिसकेको छ। एमालेसँगको खटपटबीच प्रचण्डले परराष्ट्रमन्त्रीको भ्रमण रोकिदिएका हुन्। 

जेनेभामा हुने बैठकमा मन्त्री पौड्यालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताएकी थिइन्। 

नेपाल उक्त परिषदको सदस्य राष्ट्र हो। सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफ्ना प्रगतिबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम थियो

मन्त्री पौड्याल त्यही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी थिइन्।

जेनेभा भ्रमण रोकिएसँगै अब पौड्याल दोहामा हुने अतिकमविकसित मुलु्कहरुको सम्मेलनमा पनि नजाने भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .