ad ad

सुदूरपश्चिम


​अनुसन्धान कर्मचारीको शंकास्पद मृत्यु : छानबिनका लागि परिवारको जाहेरी

सँगै पिकनिक गएकामाथि प्रहरी निगरानी
​अनुसन्धान कर्मचारीको शंकास्पद मृत्यु : छानबिनका लागि परिवारको जाहेरी

गोकुल जोशी
फागुन १४, २०७९ आइतबार १८:५३, कञ्चनपुर

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडाल मृत्यु  घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

पीडित परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनका लागि प्रहरीमा किटानी जाहेरी दिएका छन्। 

दाइ गोविन्द सिंहले जीवनसँगै पिकनिक गएका अन्यमाथि अनुसन्धानका लागि आइतबार दिउँसो दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय बैतडीले बुझेको छ। तर, जाहेरी दर्ता भने भएको छैन।

शनिबार इष्टमित्र र साथीहरुसँग पिकनिक गएका दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल राति दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। 

उनी राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत थिए। केही दिनअघि मात्रै बुडाल बिदामा घर आएका थिए। 

पिकनिक मनाउन साथी र इष्टमित्र सहित ११ जना पनि बुडालसँगै गएका थिए। दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका थिए। 

पीडित परिवारले घटना रहस्यमयी भएको भन्दै ती ११ जनामाथि अनुसन्धानको माग गरेको छ। अहिले उनीहरु प्रहरीको निगरानीमा छन्। सँगै पिकनिक गएका ११ जना जिल्ला प्रहरी कार्यालयको हातामा रहेका छन्। 

‘सँगै पिकनिक मनाउन गएकाहरु अहिले हाम्रो सम्पर्कमै छन्, कसैलाई नियन्त्रणमा लिएका छैनौँ,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले भने, ‘जाहेरी आउँदैछ, दर्ता भइसकेको छैन, घटनाको अनुसन्धान पनि अगाडि बढेको छ।’

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। बुडालको मृत्युको कारण खुलेको छैन। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको घटनास्थल पुगेका एक स्थानीयले बताए।

‘बायाँ आँखा र छातिमा चोट छ, एक ठाउँमा पिकनिक खाएका छन्, अर्को ठाउँमा नुहाउन गएको देखिन्छ,’ ती स्थानीयले भने, ‘मृतकको लुगा अर्कै ठाउँमा र मोबाइल पिकनिक गएकाहरुसँग भेटिएको छ।’

आफन्तका अनुसार महाकालीको तीरसँगैको बस्ती खडेनीका स्थानीय बासिन्दा रहेका मृतक बुडाल पौडीका सिपालु थिए। उनी बर्खामा पौडी खेलेर जोखिममा परेका मानिसको उद्दार समेत गर्थे।

सँगै पिकनिक गएकाहरुले शनिबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा बुडाल बेपत्ता भएको प्रहरीसमक्ष बताएका छन्। त्यसपछि खोजी गर्दा नभेटिएपछि उनीहरुले खोजबिनका लागि बेलुकी ६ बजे प्रहरी चौकी सेरामा निवेदन दिएका थिए। 

पिकनिक गएका अनुसन्धानका कर्मचारीको रहस्यमय मृत्यु, नदीमा भेटियो शव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .