मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आकस्मिक बैठक राख्दै छ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अहिले बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बस्ने जानकारी दिए।
राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
आठ दलको बैठकमा सहभागी नभएको राप्रपाले यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक राख्न लागेको हो। राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको छ।
शुक्रबार बालुवटारमा बसेको ८ दलको बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका थिए भने सत्ता साझेदार दलहरू राप्रपासहित नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी भएनन्।
राष्ट्रपति निर्वाचनमा आठ दल एकजुट भएसँगै वर्तमान सत्ता समीकरण पनि फेरिने निश्चित भएको छ।
Shares
प्रतिक्रिया