राजनीति


राष्ट्रपतिमा माधव नेपालले खोजे रामचन्द्र पौडेलको सहयोग

राष्ट्रपतिमा माधव नेपालले खोजे रामचन्द्र पौडेलको सहयोग

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार २०:४, काठमाडौँ

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।

बुधबार बिहान साढे १० बजे एकीकृत समाजवादीको कार्यालयमा पुगेका पौडेल र नेपालबीच डेढ घण्टा छलफल भएको एक नेताले जानकारी दिए।

तर पौडेलले आफू  कुनै कार्यकारी पदमा नभएकोले सहयोग गर्न नेपाललाई आग्रह गरेका थिए।

'राष्ट्रपतिमा तपाईं र मेरो नाममै राष्ट्रिय सहमति जुट्ने देखिन्छ, मैले कुनै कार्यकारी पद लिएको छैन, मलाई सहयोग गर्नुपर्‍यो,' नेपालसमक्ष पौडेलले भनेको कुरा उद्धृत गर्दै ती नेताले नेपालखबरलाई भने, 'दुवैले एकले अर्कोलाई सघाउन र माहोल बनाउन आग्रह गर्नुभयो।'

पौडेलसँगको भेटपछि अध्यक्ष नेपाल पार्टी सचिवालय बैठकमा बसेका थिए। उक्त बैठकले राष्ट्रपति पदका लागि संसदका सबै दलसँग वार्ता गर्ने निर्णय लिएको छ।

अध्यक्ष नेपालले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केही दिनअघि भएको  ४ घण्टा लामो भेटबारे ब्रिफिङ गरेका थिए।

'केपीजीकै आग्रहमा आइतबार चार घण्टा भेटेको हुँ,' नेपालले बैठकमा भने, 'तीन घण्टा ओलीजी मात्र बोल्नु भयो। मैले विद्यार्थी जस्तै  बनेर सुनिरहेँ।'

ओलीले आफूलाई पार्टी एकता गरेर जानुपर्ने प्रस्ताव गरेको पनि सुनाए।

'उहाँको प्रस्ताव थियो, 'पार्टी एक गरेर ठूलो पार्टी बनाऊँ, अनि राष्ट्रपति मात्रै होइन, सबै पद पाउने बाटो खुल्छ', ओलीको भनाइबारे नेपालले थपे, 'ओलीजीले ठूलो पार्टी नहुन्जेल विभिन्न समस्या झेल्नुपर्ने पनि बताउनु भयो।'

नेपालले ब्रिफिङमा अगाडि भने, 'अनि राष्ट्रपतिमा मैले झलनाथ कमरेडको नाम प्रस्ताव गरेँ। राष्ट्रिय सहमति  गरेर झलनाथ कमरेडलाई  राष्ट्रपति बनाऊँ, सबैलाई सहमत गराउन लागौँ। तर उहाँले (ओली) सहमति दिनु भएन। उहाँले नसुनेको जस्तै गर्नुभयो। ग्रीन सिग्नल दिनु भएन। अनि मलाई राष्ट्रपति प्रस्ताव गर्नु भयो।'

एमाले अध्यक्षबाट त्यो प्रस्ताव आएपछि आफूले छलफल अघि बढाउन खोजेको अध्यक्ष नेपालले बताए।

एकीकृत समाजवादीलाई राष्ट्रपति दिने कुराको स्वागत गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

'हाम्रो पार्टीबाट राष्ट्रपतिमा चर्चा हुनु स्वागतयोग्य छ, तर परिस्थिति निकै फेरबदल भइरहेको छ,' समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख खतिवडाले भने, 'शक्ति राष्टक्म्हरुको चलखेल बढ्यो, यो गतिविधि स्वभाविक छैन। उनीहरुको चलखेलले लोकतन्त्र र संघीयता धरापमा पर्‍यो। अब एकपटक गणतन्त्र पक्षधर र शान्ति प्रक्रियामा लागेका शक्तिहरु मिलेर जानुपर्ने आवश्यकता भयो। त्यही निष्कर्षसहित काङ्ग्रेससँग छलफल गर्न धुम्बाराही गएका हौँ।'

राष्ट्रिय सहमतिबाट राष्ट्रपति बनाउन आफूहरुको भूमिका रहने पनि उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .