नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन्।
नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता महरले फौजदारी अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदहरुले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडि बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताएका हुन्।
'माननीय सांसदहरुले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु जरुरी छ', नेता महर भन्छन्, 'लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्वपूर्ण अर्थ रहन्छ।'
जनता सांसद तथा जो कोही पनि कानुनले बराबर ठान्छ तर आज किन दुईखाले व्यवहार गर्न खोजिँदैछ? नेता महरले सांसदहरुलाई प्रश्न गर्दै भनेका छन्।
एक अर्को प्रसंगमा बोल्दै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरुको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउने गरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगामी अभियानको थालनी भएको टिप्पणी गरेका छन्।
वर्तमान संविधान र परिवर्तन विरोधीहरु संसद, सरकार र सडकबाट जुर्मुराउन थालेका उनले बताए।
यसको जवाफ एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधि पनि कांग्रेसलाई सह्य नहुने महरको भनाइ थियो।
Shares
प्रतिक्रिया