ad ad

राजनीति


‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदाबारे गगन थापाको टिप्पणी : कार्यकारीको स्वेच्छाचारिता

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदाबारे गगन थापाको टिप्पणी : कार्यकारीको स्वेच्छाचारिता

नेपालखबर
फागुन १, २०७९ सोमबार १६:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनका लागि दबाब बढाउन आह्वान गरेका छन्। 

सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेपछि उनले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका हुन्।

‘अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।’

पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको उनको भनाइ छ।

‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि,’ थापाले भनेका छन्, ‘झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो!’

यस्तै, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय दिवसका लागि महत्वपूर्ण पक्षहरुबीच सहमति हुनुपर्ने र अधिकांशले आत्मसात गरेको हुनुपर्ने भन्दै सरकारको यो निर्णय हतारमा गरेको टिप्पणी गरेका छन्।

‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो। राष्ट्रिय दिवसको रुपमा मान्यता दिनका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुबीच छलफल भई अधिकांश पक्षहरुले आत्मसात गरेको हुनुपर्दछ’ महतले भनेका छन्, ‘सरकारको यो निर्णय यसो नगरी हतारमा गरेको देखिन्छ। यसले राष्ट्रिय दिवसको महत्वलाई हलुका गर्दछ। जय नेपाल।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .