राजनीति


सीके राउतको चिन्ता : वैकल्पिक शक्तिलाई ठूला दलले असफल बनाउने भए

सीके राउतको चिन्ता : वैकल्पिक शक्तिलाई ठूला दलले असफल बनाउने भए

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १७:१३, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाएका छन्। 

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्। 

उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए। 

राउतले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। 

उनले राजनीतिक पार्टीको रुपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने बताएका छन्। 

उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताए। वैकल्पिक शक्तिहरु एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी राउतले गरे।

‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रुपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन', उनले भने, 'संघर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको बिरुद्धमा नै होस्। रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्नेकुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ।’ 

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्नेकुरा सोच्नु नहुने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad