ad ad

राजनीति


मसालको आरोप : रविको संलग्नता अमेरिका र सीआईएसँग छ

मसालको आरोप : रविको संलग्नता अमेरिका र सीआईएसँग छ

नेपालखबर
माघ २४, २०७९ मंगलबार १४:५३, काठमाडौँ

नेकपा (मसाल) ले निवर्तमान गृहमन्त्री रवि लामिछानेको संलग्नता अमेरिकी ‘साम्राज्यवाद’ र सीआईएसँग भएको जनाएको छ। 

मसालले रविको नागरिकता र पासपोर्टप्रति सबैको ध्यान गएको तर, उनको अमेरिकी साम्राज्यवाद र सीआईएसँगको संलग्नतातर्फ ध्यान नगएको जनाएको छ। उनको अमेरिकी संलग्नता नेपालको राजनीतिमा अत्यन्त घातक रहेको मसालको ठहर छ।

महामन्त्री मोहनविक्रम सिंहले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी चौतर्फी दबाबका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेकोप्रति धन्यवाद दिएका छन्।

गैरनेपाली व्यक्तिलाई वर्तमान सत्ता गठबन्धनले देशको उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सुम्पने कार्यप्रति वर्तमान सत्ता गठबन्धनले जवाफ दिनुपर्ने मसालले बताएको छ। प्रधानमन्त्री दाहालले रविलाई पुनः गृहमन्त्री नबनाएर केही हदसम्म आफ्नो गल्ती सच्याएको वक्तव्यमा उल्लेख छ।

नेपाली सञ्चार क्षेत्रले रविप्रति सही राजनीतिक दृष्टिकोण अपनाएकोमा पनि मसालले धन्यवाद दिएको छ। 

यस्तो छ, विज्ञप्ति
प्रधानमन्त्री प्रचण्डले चौतर्फी दबाबका बाबजुद रवि लामिछाने वा स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिनका लागि देखाएको दृढताका लागि हामीले धन्यवाद दिन चाहन्छौँ। त्यही क्रममा एमालेका नेता अध्यक्ष ओलीले सर्वोच्चको फैसलाको विरोधमा र रवि लामिछानेको पक्षमा जसरी वकालत गरे, त्यसले उनको राजनीतिक दिवालियापनलाई नाङ्गो प्रकारले प्रदर्शन गरेको छ।

घटनाक्रमबाट रवि लामिछानेमा इमानदारिता नभएको कुरा त पहिले नै प्रष्ट भइसकेको थियो। तर पत्रकार सम्मेलनको बेलामा उनले दिएका अभिव्यक्ति वा उनले प्रकट गरेको आक्रोशबाट उनको राजनीतिक स्तर पनि नभएको कुरा प्रष्ट भएको छ।

रवि लामिछानको प्रश्न खालि उनीसम्म मात्र सीमित छैन, उनी जस्तो नेपालको नागरिक पनि नभएको व्यक्तिलाई उपप्रधानमन्त्री र गृहमन्त्री समेत किन बनाइयो? त्यो प्रश्नको जवाफ वर्तमान सत्ता गठबन्धनले दिनुपर्ने छ वा इतिहासले उनीहरूसित त्यो प्रश्नको जवाफ माग्ने छ। प्रचण्डले अहिले उनलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेर त्यो गल्तीलाई केही सच्चाएका छन् तर ओली र अहिलेका सत्ता गठबन्धनका अन्य घटकले अहिले पनि रवि लामिछानेको पक्ष लिइरहेका छन्। त्यसले उनीहरूको देश, जनता र संविधान समेत प्रतिको गम्भीर गैर जिम्मेवारीपनलाई नै बताउँछ।

यसका लागि हामीले नेपालका सञ्चारमाध्यमलाई धन्यवाद दिन चाहन्छौँ कि रवि लामिछाने प्रकरणमा उनीहरूले अत्यन्त सही दृष्टिकोण अपनाएका छन्। त्यस सन्दर्भमा उनले सञ्चार माध्यमहरूप्रति अन्यन्तै निम्नस्तरको गालीगलौजको भाषामा जुन आक्षेप लगाएका छन्, ती भ्रत्र्सना र निन्दायोग्य छन्। थाहा भएअनुसार कतिपय स्थानमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कतिपय समाचार पत्र जलाएर सञ्चार माध्यमप्रतिको आफ्नो आक्रोश पनि व्यक्त गर्ने गरेका छन्। त्यसरी उनीहरूले स्वयम् आफूलाई नै झन्पछि झन् उदाङ्गो बनाउँदै लगिराखेका छन्।

रवि लामिछानेको अवैध नागरिकता वा दोहोरो नागरिकताबारे धेरै कुरा उठेका छन्। त्यो कारणले उनी उपप्रधानमन्त्री र गृहमन्त्रीका साथै सांसदको पदबाट पनि हट्नुपरेको छ र त्यो कुरालाई हाम्रो पार्टीले स्वागत गरेको छ। अहिले उनको दोहोरो पासपोर्टबारे पनि कुरा उठेको छ र त्यसबारे छानबिन भइरहेको छ।

त्यो छानबिनलाई प्रभावित गर्न उनले सांसद नभएको मान्छेले पनि गृहमन्त्री बन्न धेरै जोड गरेका थिए र ओलीले पनि त्यसका लागि धेरै शक्ति लगाएका थिए तर प्रचण्डले ओलीको त्यस प्रकारको दबाबमा नआएर अत्यन्त सही कार्य गरेका छन् र उनको त्यो कार्यले देशलाई ठुलो अनिष्टबाट बचाएको छ।

देशमा रवि लामिछानेको अवैध नागरिकता र दोहोरो पासपोर्टबारे धेरै कुरा उठेका छन्। जे–जति कुरा उठेका छन्, ती सही पनि छन् तर आमजनता, राजनीतिक पार्टी र सञ्चार माध्यमको पनि एउटा महत्वपूर्ण पक्षप्रति ध्यान गएको पाइन्न। त्यो पक्ष के हो भने उनको अमेरिकी साम्राज्यवाद वा सिआइएसँगको संलग्नता। उनको कार्यविधिको प्रधानपक्ष त्यही हो। खालि हाम्रो पार्टीले मात्र एक्लै त्यो कुरा उठाएको छ।

त्यसरी उनको समस्यालाई खाली अवैध नागरिकता र दोहोरो पासपोर्टको रूपमा मात्र बुझ्नु त्यसबाट सम्भावित वास्तविक राष्ट्रिय खतराप्रति आँखा चिम्लनु हुने छ। अमेरिकी साम्राज्यवादले नेपालको संसद र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्ने रणनीतिअन्तर्गत नै नेपालमा स्वतन्त्र पार्टी गठन गरेको कुरा प्रष्ट छ । त्यसबाट देशलाई गम्भीर खतरा पुग्ने कुरा प्रष्ट छ र त्यसप्रति हामीले सम्पूर्ण देश र जनताको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ।

२०७९ माघ २४ गते
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .