राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन्।
सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन्।
उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताइन्।
उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन्। उनले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताइन्। त्यस्तै महिलाहरुका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन्।
उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेका बताइन्।
आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनकोे भनाई छ।
उनले भनिन्, ‘हजुर सर्वसम्मत हुनुपर्छ भनेर उहाँहरुले नै धेरै पहल गर्नुभयो। र आ–आफ्नो पार्टीका नेताहरुलाई कन्भिन्स् गर्ने कुरो जे भयो मलाई लाग्छ, मेरो सन्दर्भमा उहाँ अलि बायस हुनुहुन्न, पार्टी बायस पनि हुनुहुन्न र समग्रतमा नेतृत्व गर्न सक्नुहोला भन्ने सोचले सायद मलाई सहयोग पनि गर्नुभयो मलाई। म भन्दा सक्षम नेतृहरु हुनुहुन्छ त्यहाँ। एउटा त्यो सदासयता। मलाई सर्वसम्मत बनाउने कुरामा पार्टीलाई पनि उहाँहरुले प्रभावमा पार्नुभयो र म निर्विरोध हुने वातावरण बन्यो।’
उनले आफूले कसैको पक्ष नलिइ काम गर्ने कुरामा सबैको विश्वास रहेको बताइन्।
Shares

प्रतिक्रिया