ad ad

राजनीति


भारतीय राजदूतले जनकपुरमा एकसाथ भेटे मधेसवादी नेताहरुलाई

भारतीय राजदूतले जनकपुरमा एकसाथ भेटे मधेसवादी नेताहरुलाई

लोसपाका नेताहरुसँग संवादका क्रममा भारतीय राजदूत श्रीवास्तव। तस्बिर : भारतीय महावाणिज्यदूतावास


नेपालखबर
माघ २०, २०७९ शुक्रबार १२:२६, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा खटपट आइरहेको चर्चाबीच भारतले सक्रियता बढाएको छ।

आफ्नो चहानाविपरीत दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठबन्धन सरकार बनाएपछि असन्तुष्ट रहेको भनिएको भारतले राजनीतिक सक्रियता बढाएको हो।

प्रचण्डलाई साना ठूला दलसहित मधेशवादीले पनि साथ दिएर संसदको अधिकांश मत मिलेको थियो। तर पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्डसँग असन्तुष्ट छन्। 

पुस १० गते भएको सहमतिविपरीत डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई अर्कै मन्त्रालय दिइएको छ। 

सुरुमा उद्योग मन्त्रालयमा सहमति गरेको गठबन्धनले अन्तिममा अब्दुल खानलाई खानेपानी मन्त्रालय दियो। यस्तोमा जनमत अध्यक्ष राउतले तीव्र असन्तुष्टि जनाएर समर्थन नै फिर्ता लिने चेतावनी दिएका थिए।

तर प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा खानले खानेपानी मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन्। 

उता जनता समाजवादी पार्टीले गठबन्धनसँग उपराष्ट्रपति पद मागेको छ। उसले मधेश प्रदेशमा मुख्यमन्त्री पद लिइसके पनि केन्द्रमा अझै पनि सरकारमा गएको छैन। 

सरकारलाई समर्थन गरेर पनि उपराष्ट्रपति पद नदिएको भन्दै जसपाले मन्त्री पठाएको छैन। गठबन्धनमा उपराष्ट्रपति माओवादीले लिने सहमति छ।

उता रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छैन। उसले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहितलाई रिहा गर्न माग गरेको छ।

यस्तोमा बिहीबार कैलाली २ बाट विजयी सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि उन्मुक्तिले सबैतिरको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।

उन्मुक्तिले असन्तुष्टि जनाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले अझैसम्म विश्वासको मत लिन सकेका छैनन्। चौधरी पक्राउ प्रकरणले नागरिक उन्मुक्तिको समर्थन नमिल्दा रावल नेतृत्वको सरकार विश्वासको मत नै नपाइ ढल्ने अवस्थामा छ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएर सरकारबाहिरै बसेको छ। उसले सभामुखको निर्वाचनमा कांग्रेसलाई सघायो।

पछिल्लो समय खासगरी रास्वपा सभापति रवि लामिछानेलाई लिएर ओली र प्रचण्डबीचमै खटपट भइरहेका बेला भारतीय राजदूतले मधेशवादी दलका नेताहरुलाई एकै ठाउँ राखेर भेटेका हुन्।

कालिगण्डकीको शिला जनकपुर हुँदै अयोध्या पठाउने क्रममा जानकी मन्दिर दर्शनका लागि भन्दै राजदूत श्रीवास्तव पनि त्यहाँ पुगेका थिए।

यो क्रममा उनले जनकपुरमै रहेर मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पनि भेटेका छन्। श्रीवास्तवले मिश्रसँग समसामयिक राजनीतिक अवस्था र मधेश प्रदेशको विकाससहितका मुद्दामा कुरा भएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ।

त्यसैगरी राजदूतले जनकपुरस्थित एक होटलमा रहेर मधेशकेन्द्रितदेखि ठूला दलका नेतालाई पनि भेटेका छन्। 

राजदू श्रीवास्तावले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग अलग्गै संवाद गरेका छन्। लोसपा अहिले केन्द्रदेखि प्रदेशसम्म सरकारमा गएको छैन। 

त्यसैगरी उनले केन्द्र सरकारमा असन्तुष्टि जनाइरहेको जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेश यादवसँग पनि वार्ता गरेका छन्। जनमतले मधेशमा दोस्रो अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति छ।

लोकतान्त्रिक समाजवादीका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँग वार्ता गरेका उनले त्यही पार्टीका मधेश प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलसँग पनि वार्ता गरेका छन्। 

आगामी फागुन २५ गते हुने भनिएको राष्ट्रपति निर्वाचनसम्म एमाले-माओवादीसहितको सात दलीय गठबन्धन नरहने चर्चाबीच मधेशवादी दलहरुसँग भारतीय राजदूतको संवादलाई अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छन्। यस्तोमा उनलाई पुस २६ गते विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा प्रचण्डको पनि साथ मिल्ने विश्वास गरेको छ।

तर एमालेले भने पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपति आफैंले पाउने बताइरहेको छ। 

वर्तमान गठबन्धनलाई लिएर असन्तुष्ट रहेको भनिएको भारतले राजदूतलाई जनकपुरमै राजनीतिक भेटघाट गराएर मधेशवादीहलाई एक ठाउँमा ल्याउन खोजेको आकलन गर्न थालिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .