प्रदेश २ सरकारले धनुषाको महेन्द्रनगरमा भएकाे बम विस्फोट परी ज्यान गुमाएका तीनैजनाका परिवारलाई ३/३ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ।
यस्तै, विस्फोटमा घाइते भएकालाई उपचार खर्च स्वरुप जनही १ लाख ५० हजार रुपैँया उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश २ सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेकाे मुख्यमन्त्रीकाे कार्यालयले जनाएको छ।
मंसिर २७ गते राति क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित राजेश प्रसाद साहको घरमा राखेको बम बिस्फोट हुँदा साह र उनका छोरा आनन्दको घटनास्थलमै र गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको उपचारको क्रममा मृत्यु भएको थियो।
राजेश्वर साहका बुबा भिखारी साह, अर्का छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजन महतो गम्भीर घाइते भएका थिए। घटनाको भोली पल्ट घटना स्थलगमा पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइतेहरुलाई उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने प्रतिवद्धता गरेका थिए।

प्रतिक्रिया