चैतको तेस्रो साता आयोजना हुन लागेको ‘सगरमाथा संवाद’ अघि त्यसलाई सघाउन पुग्ने गरी राष्ट्रिय र क्षेत्रीय कार्यक्रम आयोजना हुने भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा रहेको निर्देशक र व्यवस्थापन समितिमा आइतबार भएको संयुक्त बैठकले राष्ट्रिय संवाद काठमाडौं र जनकपुरमा परामर्श बैठक गर्ने निर्णय गरेको हो। काठमाडौंमा माघ २६ र जनकपुरमा पुस २९ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको जनाइएको छ।
‘राष्ट्रिय संवादमा सगरमाथा संवादकै थिमका कार्यक्रमहरु आयोजना हुने छ। जनकपुरमा आयोजना हुने कार्यक्रममा चुरे, जलवायु परिवर्तनको कारण त्यस क्षेत्रमा परेको असरको विषयमा छलफल आयोजना हुनेछ,’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा सह निर्देशक रुपक सापकोटोले भने। प्रतिष्ठानले कार्यक्रमको सचिवालयको जिम्मेवारी पाएको छ। पहाड तथा हिमाली क्षेत्रको विषयमा मंसिर २५ गते पोखरामा क्षेत्रीय परामर्श कार्यक्रम आयोजना गरिएको थियो।
त्यसैगरी बैठकले माघ १ गते काठमाडौं र दिल्लीमा रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुलाई जानकारी दिन काठमाडौमा कार्यक्रम राख्ने निर्णय गरेको छ। नेपालले पहिलोपटक चैतको २० देखि २२ गतेसम्म सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको छ। यसपटकको संवादको विषय ‘जलवायु, हिमाल र मानवीयताको भविष्य’ मुख्य विषयमा रहेको छ। त्यसअन्तर्गत जलवायु परिवर्तन, पर्वतीय वातावरण र अर्थतन्त्र शीर्षकमा छुट्टाछुट्टै सत्रहरुको आयोजना गरिएको छ।
संवादमा सहभागी हुनका लागि सरकारले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, वरिष्ठ सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि, विषय विज्ञ, वैज्ञानिक, उद्योगी, व्यापारी, अभियन्ता, कलाकारहरुलाई आमन्त्रण गरेको छ।
सरकारले विश्वचर्चित वातावरण अभियन्ता ग्रेटा थनवर्ग, हलिवुड अभिनेता लिओनार्डो डिक्याप्रियो, चीनको बहुराष्ट्रिय कम्पनी अली बाबाका मुख्य संस्थापक ज्याक मा लगायत विश्वका प्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रण गरेको छ । तर को को सहभागी हुने भनेर निश्चित भने भैनसकेको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया