खारेज भइसकेको नागरिकता प्रयोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गल्ती ठहर गरेपछि एकै पटक सबैथोग गुमाएका रवि लामिछाने फेरि एकैदिन पार्टीको नेतृत्वमा फर्किएका छन्।
अमेरिकी नागरिकता लिएपछि उतैको भिसामा नेपाल फर्किएका उनले खारेज भइसकेको पुरानै (२०५० सालमा लिएको) नागरिकताका आधारमा राहदानीसमेत निकालेका थिए।
रविले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा र चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचन लड्नका लागि निर्वाचन आयोगमासमेत त्यही खारेज भएको नागरिकता पेश गरेका थिए।
विदेशी नागरिकता लिइसकेपछि नेपाली कानुन अनुसार खारेजीमा परिसकेको नागरिकताकै आधारमा सांसद हुँदै गृहमन्त्रालयसमेत सम्हालिसकेका उनले शुक्रबार सर्वोच्चको संवैधानिक इजलासको आदेशमा सबैथोक एकसाथ गुमाए।
सर्वोच्चको आदेशपछि अनागरिक भएँ भन्दै गृहमन्त्रालयबाट शुक्रबार साँझ निस्किएका उनी आइतवार बिहान कार्यालय समय सुरु हु्नेबित्तिकै बबरहमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगे।
जहाँ उनले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि निस्सा पेश गरे। त्यहीअनुसार उनलाई प्रमुख जिल्ला अधिकारीले २०५० सालकै नम्बर कयम भएको नागरिकता उपलब्ध गराइदिए।
नागरिकता पुनर्प्राप्तिलगत्तै उनका दाजु हरिशरण लामिछानेले जिल्ला प्रशासन कार्यालयमै रवि राजनीतिमै रहेको बताउँदै विगतमा भएका सबै मिस्टेक अब सच्याएर अघि बढ्ने सुनाए।
'विगतमा मिस्टेक भएको हो। नागरिकता पुनर्प्राप्तिसँगै ती मिस्टेक सुधार्ने अभियान सुरु भयो', उनले भने, 'अब रविले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यता लिनेछ। अन्य प्रक्रिया पूरा गरेर राजनीतिमा उत्तिकै सक्रिय हुनेछ।'
दाजु हरिशरणले यति भन्दै गर्दा रवि नागरिकताको नयाँ प्रति लिएर जिल्ला प्रशासनबाट निस्किसकेका थिए।
बबरमहलबाट निस्केका उनकी खारेज भइसकेको त्यही नागरिकताबाट निकालेको पुरानो राहदानी फिर्ता गर्न त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगे। त्यहाँ उनले राहदानी फिर्ता गरेर पार्टी कार्यालय बसुन्धरा हिँडे।
रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा उनले कार्यवाहक सभापति डोरप्रसाद अर्याललाई केन्द्रीय समिति बैठक राख्न अह्राइसकेका थिए।
पुन:पार्टी नेतृत्वमा फर्किन हतार गरिरहेका रविकै योजनाअनुसार अर्यालले केन्द्रीय समिति बैठक राखे।
केन्द्रीय कार्यालयमा बैठक बस्दै गर्दा रविको प्रवेश साधारण सदस्यका रुपमा पनि थिएन। नागरिकता अवैध ठहर भएसँगै उनले शुक्रबार नै पार्टीको पनि सबै हैसियता गुमाइसकेका थिए।
पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार लामिछानेले नयाँ नागरिकताका आधारमा त्यहीँ तत्कालै पार्टीको साधारण सदस्यता लिए।
रविले पार्टी सदस्यता लिइसकेपछि उनलाई त्यहाँ बसिरहेको केन्द्रीय समिति बैठकमा आमन्त्रित सदस्यका रुपमा बोलाइयो।
'कार्यवाह सभापति डोरप्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकमा उहाँलाई आमन्त्रितको हैसियतामा बोलाइयो', ढकालले भने, 'त्यही बैठकले उहाँ (रवि) लाई पार्टीको केन्द्रीय सदस्यमा चयन गर्यो।'
त्यसपछि आइतवारै त्यहीँ रास्वपाले अर्को माइन्युटका लागि अलग्गै बैठक राख्यो। जसबाट उनी दुई दिनभित्र पार्टी सभापतिमा फर्किएका छ्न।
'केन्द्रीय सदस्यमा मनोनयन गरेपछि हामीले फेरि अर्को बैठक गर्यौँ। केन्द्रीय सदस्यमा मनोनित उहाँलाई त्यहीँ अर्को बैठकले सभापतिमा मनोनित गरेको छ।'
ढकालका अनुसार पार्टीलाई तीव्र गतिमा विस्तारका लागि तत्कालै रविकै सभपातित्वमा अर्को बैठक बसे निर्णय गरेको बताए।
'अन्तिममा रविजीको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तारलाई अघि बढाउने निर्णय गरेको छ', उनले भने, 'अब हामीले माघ २२ गतेदेखि गण्डकीबाट प्रदेशका विस्तारित बैठक थाल्दैछौँ। अब यो बैठक देशैभर जानेछ।'
Shares

प्रतिक्रिया