पछिल्लो समय कर्णालीमा कुष्ठरोगका बिरामीहरू घट्दै गएका छन्। सरुवा रोगको रुपमा रहेको कुष्ठरोग कर्णालीमा उन्मुलनको चरणमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
२०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारणको घोषणा भएको थियो। विश्वस्वास्थ्य संगठनको परिभाषा अनुसार प्रति १० हजार जनसंख्यामा एकजना भन्दा कम बिरामी फेला परेको खण्डमा कुष्ठरोग उन्मुलन भएको मानिन्छ। कर्णालीमा बितेका सात आर्थिक वर्षमा (२०७२÷०७३ देखि २०७८÷०७९) वर्षहरुमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका थिए।
हाल सो संख्या घटेर ८४ पुगेको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी सुर्खेतमा १५ जना कुष्ठरोगीका बिरामीले उपचार गराइ रहेका छन्। दैलेखमा १२, सल्यानमा ११, रुकुमपश्चिम र जाजरकोटमा समान ११/११, जुम्लामा १०, कालिकोटमा आठ जनाले उपचार गराइ रहेका छन्। हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगुमा समान दुई/दुई गरी ६ जना बरामी रहेको सूचना अधिकारी केसीले बताए।
यस्तै, कर्णालीमा कुष्ठरोग करिब–करिब निवारणकै अवस्थामा रहेको सूचना अधिकारी केसीले बताए।
‘हामीकहाँ कुष्ठरोगी हुँदै नभएको भन्ने चाहिँ होइन। छिटपुट बिरामी हुनुहुन्छ’ केसीले भने, ‘कर्णालीमा जनस्वास्थ्य समस्याको रुपमा कुष्ठरोग छैन भन्दा हुन्छ।’
प्रभावकारी र बहुउपयोगी औषधि र निशुल्क उपचारका कारण कर्णालीमा कुष्ठरोग निवारणतर्फ उन्मुख भएको केसीको भनाइ छ।
उनका अनुसार कुष्ठरोग दुई प्रकारको हुन्छन्। कम किटाणु भएको बिरामीले ६ महिना र बढी किटाणु भएका बिरामीले १२ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ। कसैलाई रोगको प्रकृति हेरेर २४ महिनासम्म औषधि सेवन गर्नुपर्ने केसीको भनाई छ।
यस्तै, कुष्ठरोग लागेको खण्डमा हात र खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाएको जस्तो हुने, छालामा रंगहीन दाग देखिने, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो हुने, नाक थेप्चो हुने, शरीरका अन्य भागमा गिर्खा देखिने जस्ता लक्षणहरू देखा पर्दछन्।
Shares
प्रतिक्रिया