राजनीति


सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री

सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री

२२औँ सशस्त्र प्रहरी दिवसका आयोजित कार्यक्रममा गृहमन्त्री लामिछाने।


नेपालखबर
माघ १०, २०७९ मंगलबार ६:५४, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने बताएका छन्।।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा आयोजित २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा गृहमन्त्री लामिछानेले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन र अध्ययन गरी सशस्त्र प्रहरीको जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याए।

सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरुको सुरक्षा, औद्योगिक एवं राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा उनले प्रशंसा पनि गरे।

गृहमन्त्री लामिछानेले यसअघि निरीक्षण भ्रमणका क्रममा भने बमोजिम राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको आधारभूत आवश्यकताको रुपमा रहेको बसोबास, बन्दोबस्ती, लत्ता कपडा, हातहतियार उपलब्ध गराउनेतर्फ मन्त्रालयले पहलकदमी सुरु गरिसकेको पनि जानकारी गराए।

सशस्त्र प्रहरीले गरेका हरेक क्रियाकलापबाट समाज, देश र जनताले शान्ति सुरक्षासँग विकासको अनुभूत गर्न सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री लामिछानेले भने, ‘सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलमार्फत सुरक्षा र विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ, जसबाट सीमा क्षेत्रको भौतिक विकासको साथै सीमा क्षेत्रका जनताको मनमा देश प्रेम र राष्ट्रभक्तिको भावना झनै वृद्धि हुने विश्वास लिएको छु।’

उनले विपद् व्यवस्थापनमा थप जनशक्ति निर्माण गर्न, स्रोतसाधन उपलब्ध गराउन र आवश्यक नीति निर्माणमा मन्त्रालयले विशेष भूमिका खेल्ने बताए।

उनले नेपाल सरकारले विसं २०७२ को भूकम्पको उद्धारमा सशस्त्र प्रहरी बलले गरेको कामको उच्च मूल्याङ्कन गर्दै अब उप्रान्त हुन सक्ने विपद्मा प्रभावकारी भूमिका निर्वाह गर्न थप स्रोतसाधन उपलब्ध गराउने नीति लिएको जानकारी दिए।

२२औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा काँधमा जिम्मेवारी, लक्ष्यमा इमान्दारी र मस्तिष्कमा समझदारी राखेर कार्य गर्ने प्रेरणा मिलोस् भनी सशस्त्र प्रहरीलाई शुभकामना दिए।

उनले सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीले आफ्नो ऊर्जा र क्षमताको अधिकतम प्रयोग गरी सङ्गठनको वयस्क समयलाई जीवन्तता बनाउने विश्वास व्यक्त गरे। उनले मन्त्रालयले अभिभावकीय भूमिकामा रहेर साधान र स्रोतले भ्याएसम्म थप सहयोग गर्ने विश्वास दिलाए।

गृहमन्त्री लामिछानेले आन्तरिक सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल सङ्घीय सरकारको अभिन्न सुरक्षा निकायको रुपमा संविधानले नै व्यवस्था गरे बमोजिम देशका ७७ वटै जिल्लामा तैनाथ रही ऐनले तोकेको कार्यादेश बमोजिम कार्य सम्पादन गर्दै आएको र आगामी दिनमा थप व्यावसायिक भइ कर्तव्य पथमा लाग्ने अपेक्षा रहेको बताए।

जनशक्ति, स्रोतसाधनलगायत सङ्गठनमा पर्याप्त छैनन् तर पनि देशको आवश्यकता र क्षमता बमोजिम सशस्त्र प्रहरी बललाई थप मजबुद बनाउन कानुनी एवं नीतिगत सुधार तथा स्रोत साधन उपलब्ध गराउन गृह मन्त्रालयले कुनै पनि कन्जुस्याईँ नगर्ने उनले बताए।
 
उनले सशस्त्र फौजलाई अन्तर्राष्ट्रिय सुरक्षा फौजको क्षमतासँग समानन्तर बनाउन आग्रह गरे।

सङ्घीय सरकारको बलको रुपमा रहेको सशस्त्र प्रहरी बलले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न अन्य सुरक्षा निकाय, तीनै तहका सरकार एवं राज्यका अन्य निकायसँग समन्वय गरी सुरक्षाका आवश्यक कारबाही गर्नसमेत निर्देशन दिए।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनलाई अब्बल सुरक्षा दस्ताको रुपमा विकास गर्दै लगिएको जानकारी गराए।

आजदेखि २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको सशस्त्र प्रहरीले व्यावसायिक कुशलता प्रदान गर्दै आजसम्मको यात्रा तय गरेको बताए। 

सशस्त्रले यसअघि विभिन्न अग्नि परीक्षामा खरो रुपमा उत्रिएर सङ्गठनको औचित्य पुष्टि गरेको पनि उनले जिकिर गरे। उनले देश र देशवासीको हितलाई सर्वोपरी ठानी नेपाल सरकारले लिएको सुशासन, समृद्धि र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सशस्त्र प्रहरी निर्दिष्ट योजना कार्यान्वयनमा कटिबद्ध रहेको बताएश्र

 सो क्रममा सशस्त्र प्रहरीले कवाज, व्याण्ड, खेलकुद कला तथा कठिन परिस्थितिमा गरिने उद्दार कला प्रस्तुत गरेको थियो।

सशस्त्र प्रहरी दिवसको अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई आज ‘सशस्त्र प्रहरी लाइभटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad