प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरेका छन्।
आइतवार तामाङ समुदायको पर्व ल्होसाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रैका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको पनि स्मरण गरे।
उनले अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन र प्रवर्द्धन हुन नदिने कुचेष्टा भइरहेको बताए।
अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताए।
‘विगतमा एकातिर सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चल्यो भने आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने चेष्ठा भइरहेको छ', उनले भने, 'हामी एकातिर सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाईं जारी छ। अर्कातिर वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितिमा छौँ।'
उनले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, हाम्रा ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व आएको पनि बताएका छन्।
प्रधानमन्त्री दाहालले उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाइँ गरेको बताए।
नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको उनले बताए। दाहालले माघ १५ गतेदेखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण हुने पनि बताएका छन्।
प्रतिक्रिया