राष्ट्रिय जनमोर्चाले सभामुखमा ईश्वरी न्यौपानेलाई समर्थन गरेको छ।
बिहीबार सभामुख चयनका लागि जारी संसद बैठकमा धारणा राख्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस उम्मेदवार न्यौपानेलाई समर्थन गर्ने बताएका हुन्।
उनले ‘छातीमा ढुंगा राखेर’ न्यौपानेलाई समर्थन गर्नुपरेको स्पष्ट पारे।
सात भाइले हलोका लागि रुख काट्दा रुखसँगै आफूहरु पनि भीरबाट खसेको कथा भन्दै केसीले विपक्षीमा बस्छु भनेको कांग्रेसले किन सरकारलाई समर्थन गर्न सकेन? भनि प्रश्न पनि गरे।
केसीले संसदमा सुनाएको कथा यस्तो थियो–
कुनै ठाउँमा सात भाइले हलोका लागि भीरको रुख काट्ने सल्लाह गरेछन्। पाँच भाइ फेदतिर बसेर रुख काट्न थाले। रुख भीरबाट तल नखसोस् भनेर दुई भाइले टुप्पामा रसीले बाँधे र रसी कम्मरमा कसे। रुख काटिएपछि रुखको फेदसँगै पाँच भाइ पनि भीरबाट खसे। त्यसपछि फेदको राम्रा राम्रा दार पाँच भाइले मात्रै बाँड्ने भए भनेर माथिका दुई भाइ पनि हाम फालेछन्।
केसीले अहिले देशको हालत ठ्याक्कै यस्तै भएको भन्दै सरकार गठन गर्नुअघि ठूला ठूला कुरा गर्ने राजनीतिक दलले सत्ताका लागि जो सँग जस्तो पनि सम्झौता गरेको भन्दै कटाक्ष गरे।
उनले सरकारमा भएका मन्त्रीहरुको रेकर्ड कस्तो छ भन्दै प्रश्न पनि गरे।
‘गृहमन्त्रीको रेकर्ड के छ? सहरी विकास मन्त्रीको रेकर्ड के छ?’ केसीले भने।
केसीले राजनीतिक दलको यिनै कमजोरीको फाइदा उठाएर विदेशीले आफ्नो अनुकुल खेलाउने दाउ हेरिराखेको बताए।
Shares

प्रतिक्रिया