ad ad

राजनीति


राष्ट्रसंघीय मञ्चमा नेपाल विपक्षमा उभिँदा इजरायल दुःखी

राष्ट्रसंघीय मञ्चमा नेपाल विपक्षमा उभिँदा इजरायल दुःखी

नेपालखबर
माघ ३, २०७९ मंगलबार १८:३५, काठमाडौँ

नेपाल भ्रमणमा रहेकी इजरायली परराष्ट्र मन्त्रालयको दक्षिण–पूर्वी एशिया विभाग र प्यासिफिक डिभिजनकी निर्देशक मिखाल वाइल्नर–तालले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेकी छिन्। 

भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय र बहुपक्षीय सहयोग तथा आगामी दिनमा पारस्परिक हितका लागि सम्भावनाको खोजी गर्ने विषयमा वृहत् छलफल भएको काठमाडौंस्थित इजरायली दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ।

त्यस क्रममा परराष्ट्र सचिव पौड्यालले इजरायलले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। 

छलफलका क्रममा तालले दुई देशबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै आपसी सहकार्य गर्नु आवश्यक रहेको बताएकी थिइन्। 

इजरायलले नेपालसँगको द्विपक्षीय सम्बन्ध लामो समयदेखि सुमधुर रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले इजरायलको बिपक्षमा मतदान गर्ने गरेको प्रति गुनासो गर्दै आएको छ। 

नेपाल भ्रमणमा रहेकी इजरायलकी अधिकारी तालले नेपालले राष्ट्रसंघीय मञ्चमा किन इजरायलको विपक्षमा भोट दिन्छ भन्ने बारे इजरायलको चासो रहेको प्रतिक्रिया दिएका छिन्।

‘नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ छ। तर नेपालले राष्ट्रसंघीय मञ्चमा इजरालयको विपक्षमा मत दिने गरेको छ’ सोमबार केही पत्रकारसँगको कुराकानीमा उनले भनिन्। 

तालले जेनेभा र न्यूयोर्कमा हुने राष्ट्रसंघीय मतदानमा नेपाल इजरायलको समर्थन वा विरोध नगरी तटस्थ बसेमा इजरायल खुशी हुने बताइन्। 

‘नेपालले तटस्थ बसिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो। यद्यपी सार्वभौम देश भएकाले नेपाललाई आफ्नो निर्णय लिने स्वतन्त्रता छ’ उनले भनिन्। 

केही वर्षयता इजरायलले त्यस बिषयमा नेपालसँग कुरा राखेपनि नेपालले इजरायलको विपक्षमा मत दिने काम जारी राखेको राजदूत हनान गोदरले बताए। 

‘नेपालका हामी असल साथी हौँ तर बहुपक्षीय मञ्चमा नेपालले हाम्रा विरुद्ध मत दिन्छ। त्यसमा हाम्रो चिन्ता हो’ उनले भने। 

इजरायली अधिकारीको भ्रमणले नेपाल र इजरायल बीचको सौहार्दपूर्ण सम्बन्ध थप बलियो हुने, दुवै देशका जनताको हित गर्ने तथा विद्यमान सहयोगलाई नतिजामूलक र प्रगाढ बनाउने विश्वास दूतावासले लिएको छ। 

इजरायली विदेश मन्त्रालयकी वरिष्ठ अधिकारी तालको सम्मानमा नेपालका लागि इजरायली राजदूत हानान गोदरले राजदूत निवास विशालनगरमा स्वागत समारोह आयोजना गरेका थिए।

त्यस अवसरमा राजनीतिक दलका प्रतिनिधी, सरकारी अधिकारी, सञ्चारकर्मी, कृषि विज्ञ, शिक्षाविद् र नेपालका सार्वजनिक तथा निजी क्षेत्रका अन्य विशिष्ठ अतिथिहरूको उपस्थिति थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .