ad ad

राजनीति


देउवालाई जगदिशनरसिंहको प्रश्न : नत्थी लगाए झैँ प्रचण्डलाई समर्थन गर्नुपर्ने बाध्यता के हो?

देउवालाई जगदिशनरसिंहको प्रश्न : नत्थी लगाए झैँ प्रचण्डलाई समर्थन गर्नुपर्ने बाध्यता के हो?

नेपालखबर
पुस २६, २०७९ मंगलबार २१:४६, काठमाडौँ

नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने कांग्रेसको कदम ‘खुँखार अधिनायकवादी जन्माउने सुडेनी खेल’ को संज्ञा दिएका छन्। 

संसदलाई प्रतिपक्षविहीन बनाएर सभापति शेरबहादुर देउवाले कांग्रेसघाती काम गरेको उनको आरोप छ। 

‘आज प्रचण्ड नेतृत्वको गैर–कांग्रेस गठबन्धन सरकारलाई नाकमा नत्थी लगाए जस्तो गरी समर्थन गर्नु नै थियो भने निर्वाचनपछि दुई वर्षको लागि उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नेतृत्वले टाङ् अडाउनु पर्ने के बाध्यता थियो?’ उनले प्रश्न गरेका छन्।
निर्वाचनमा गठबन्धनलाई भोट नहाल्ने आफ्ना कार्यकर्तालाई कारबाही गर्ने नेतृत्वले पार्टीमा पुगेको क्षतिको क्षतिपुर्ती कसरी गर्छ भनि प्रश्न पनि गरेका छन्।

केसीले ‘प्रचण्डको डोला बोक्ने नेतृत्वको बुद्धि’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन्,  

नेपाली कांग्रेसले संसदमा जिम्मेवार प्रतिपक्षको प्रभावकारी र लोकप्रिय भूमिका निर्वाह गर्नुपर्छ भन्ने सारा कांग्रेसजनसहित कार्यकर्ताको आवाजमाथि कुठाराघात गर्दै, आखिर कांग्रेस नेतृत्वले वाम नेतृत्ववाला गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरेर प्रचण्डको डोला बोक्ने चरित्र देखाएका छन्। यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाएर उनको डोला बोक्ने डोले–तत्परतालाई एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले तुहाईदिएपछि नेतृत्वको यो पछिल्लो कांग्रेसघाती निर्णय देखियो।

नेपाली कांग्रेस लोकतन्त्र र संसदीय व्यवस्थाको लागि आजीवन समर्पित रहँदै आएको पार्टी हो। संसदमा मोलाहिजाबाट मुक्त, सशक्त र निर्भिक जिम्मेवार प्रतिपक्षको उपस्थिति संसदीय लोकतन्त्रको अनिवार्य आधार हो। तर कांग्रेस नेतृत्वको ओहोदामा बिराजमान व्यक्तिले नै मूख्य प्रतिपक्षको अस्तित्वलाई मटियामेट गरेर सत्तासमक्ष लम्पसार पर्नु भनेको कांग्रेसले बरण गरेका मूल्य, मान्यता, सिद्धान्त, नीति र आदर्शलाई सत्ताको भोकमा मटियामेट गराउने धुन्धुकारी चरित्र हो। संसदबाट खुँखार तानाशाहको जन्म गराउने सुँडेनी खेल हो। 

आज प्रचण्ड नेतृत्वको गैर–कांग्रेस गठबन्धन सरकारलाई नाकमा नत्थी लगाए जस्तो गरी समर्थन गर्नु नै थियो भने निर्वाचनपछि दुई वर्षको लागि उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नेतृत्वले टाङ् अडाउनु पर्ने के बाध्यता थियो? आज प्रचण्डलाई विश्वासको मत दिनुलाई बुद्धिमत्ता मान्ने हो भने हिजो त्यो ‘बुद्धि’ कता हराएको थियो? गठबन्धनका उम्मेद्वारलाई मत नदिने कांग्रेस नेता तथा कार्यकर्तालाई कारवाहीको डण्डा चलाउने ने नेतृत्वको खेलवाडले निष्ठाको जनमुखी–राजनीति गरिरहेका कार्यकर्ताको प्रतिष्ठा र हुर्मत हरेर कारवाही चलाउने हर्कतको क्षतिपूर्ति कसरी हुन्छ?

ईतिहास लेख्ने हातलाई कसैले रोक्न सक्दैन। वर्तमान र भावी पुस्तामाथि कुठाराघात गर्ने यस्ता कांग्रेसघाती खेललाई इतिहासले कदापि सम्मानजनक अध्याय दिने छैन। कांग्रेस नेतृत्वलाई सद्बुद्धि पलाओस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .