राजनीति


तीन वडाध्यक्षको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

तीन वडाध्यक्षको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

नेपालखबर
पुस १०, २०७६ बिहिबार १३:४७,

सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।

गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो।

विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह र वडा नम्बर ६ का वडाध्यक्ष कमलदेव यादवको नेतृत्वमा कार्यालयमा तालाबन्दी भएको हो।

गाउँपालिकाले नियमविपरीत काम गरेको र पूर्वाग्रही ढङ्गले योजनाको बाँडफाँट गरेको विषयमा गाउँपालिका अध्यक्ष परमानन्द यादवलाई पटकपटक लिखित आग्रह गर्दासमेत वास्ता नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष सिंहले बताए ।

आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ को आयव्याय सार्वजनिक गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन्। गत पुस २ गते बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकका सम्बन्धमा समयमा जानकारी नदिएको, बैठकको निर्णय सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको आरोप लगाइएको छ।

विभिन्न चरणमा आयव्यय विवरण पास गर्नुपर्ने भए पनि नियमविपरीत आफूखुशी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधि खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्षलगायतका स्थानीय जनप्रतिनिधिसमेतलाई जानकारी नदिई आफूखुशी समिति गठन गरेको ज्ञापनपत्रमा उल्लेख छ।

यसअघि गत मङ्सिर २९ गतेदेखि डाकनेश्वरी नगरपालिकाको कार्यालयमा युवाले तालाबन्दी गरी विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै युवाले भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad