राजनीति


पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १९:८, काठमाडौँ

सरकारले नेपाल एकीकरणका प्रणेता समेत रहेका पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

एकजना मन्त्रीका अनुसार सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

'क्याबिनेटले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ', उनले नेपालखबरसँग भने, 'राज्यले दिवसका रुपमा मनाउने नमनाउने विषयमा केही पनि कुरा भएको छैन।' 

सात दलीय गठबन्धन सरकारमा जानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो।

राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा मनाउनुपर्ने शर्त राखेको थियो। 

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन नेकपा एमाले र माओवादी केन्द्र तयार हुनुपर्ने अडान राप्रपाले लिएको थियो।

नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले १६ वर्षअघि गरेको निर्णय उल्ट्याएर पृथ्वीनारायणको जन्मजयन्तीको दिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने अडान आफूहरुले राखेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका थिए। 

सत्ता गठबन्धनका संयोजक केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदमा सहभागी हुन गरेको आग्रहको जवाफमा राप्रपाले यस्तो शर्त राखेको थियो।

सरकार लचिलो भएसँगै राप्रपाले बागमती र प्रदेश १ सरकारलाई समर्थन गरिसकेको छ। प्रदेश १ मा राप्रपाका भक्ति सिटौला मन्त्री बनिसकेका छन्।

यता बागमतीमा राप्रपाका भुवन पाठक संसदको सभामुख बन्दैछन्। केन्द्रमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्ने चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad