प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्।
मंगलबार ११ बजे बस्ने संसद बैठकबाट विश्वासको मत लिने तयारीमा रहेका प्रचण्ड १८ महिनासम्मको सहयात्रापछि छुटेका देउवाको समर्थन लिन धुम्बाराही पुगेका हुन्।
नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने आवाज उठिरहेका बेला सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको संकेत गरेका थिए।
देउवा र प्रचण्डबीच २०७७ फागुनदेखि सहकार्य थियो। २०७८ असारदेखि उनीहरु सत्ता सहकार्यमा थिए।
तर एमाले अध्यक्ष ओलीको जोडबलमा माओवादी अध्यक्ष प्रचण्डले पुस ११ गते तत्कालीन सत्ता गठबन्धन तोडेका थिए।
सत्ता गठबन्धन तोडेको करिब दुई सातापछि प्रचण्ड देउवालाई भेट्न धुम्बाराही पुगेका हुन्। प्रचण्डकै निर्णयका कारण देउवा बालुवाटारबाट निस्किन बाध्य भएका थिए।
Shares

प्रतिक्रिया