ad ad

राजनीति


प्रचण्डलाई बधाई दिँदै देउवाले भने : कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छ

प्रचण्डलाई बधाई दिँदै देउवाले भने : कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छ

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २५, २०७९ सोमबार १३:४९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअनुरुप काम गर्न आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअरुरुप काम गर्न आग्रह गरेका हुन्। 

प्रतिनिधिसभामा निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु,’ देउवाले भने, ‘तपाईंहरु ५ वर्षीय कार्यकालमा देश र जनताको हितमा काम गर्न सफल हुनुहुनेछ भन्ने विश्वास गर्दै कार्यकाल पूर्ण सफलताको शुभकमना व्यक्त गर्दछु। तपाईंहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु।’

उनले कांग्रेसले प्रतिनिधिसभामा जिम्मेवार भएर रचनात्मक रुपमा प्रस्तुत हुने पनि बताए। उनले सम्बोधनका क्रममा आफूसँग सहकार्य तोडेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डलाई पनि बधाई दिएका छन्।

‘यो प्रतिनिधिसभामा नेपाली कांग्रेस एकतावद्ध, जिम्मेवार भएर रचनात्मक रुपमा प्रस्तुत हुनेछ,’ देउवाले भने, ‘जनताको जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ।’

देउवाको मन्तव्यको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,    

(१) नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुदैछ। म सबै भन्दा पहिले देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुर्नस्थापना र संरक्षणकालागि जीवन आहुती दिन हुने सम्पूर्ण प्रातः स्मरणीय ज्ञात, अज्ञात शहिदहरुमा हार्दिक श्राद्धान्जली अर्पण गर्दछु।

(२) देशमा संघीय, लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र बर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैका प्रति उच्च सम्मान गर्दै प्रसंशा गर्न चाहन्छु।

(३) प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरु पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वथा सफल हुनु हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्दछु । तपाईहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु।

(४) माननीय पुष्प कमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ। म नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु।

(५) आज भन्दा अठार महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमको बिचमा नेपाली कांग्रेस सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए। तत्कालिन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो। यस कार्यमा तमाम चुनौति र कठीनाईहरु थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो। स्थानिय तहको निर्वाचन समयमा सम्पन्न भयो। पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ। म यस अवसरमा सवैमा हार्दिक धन्यवाद दिन चाहन्छु।

सभामुख महोदय,

(६)    आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनहरु समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देश भित्र र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहीनी, दाजूभाईहरु, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजिवि, संचार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। निर्वाचनको प्रयोजनकालागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।

(७)    म माननीय सदस्यहरुलाई विषेश रुपले आग्रह गर्न चाहन्छु। यो प्रतिनिधि सभावाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ।संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ। लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ।हाम्रो सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाहि नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्दछ।सबै माननीय साथीहरुमा म हार्दिक अपील गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौं।

सभामुख महोदय,

(८)    मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबै भन्दा ठूलो राजनीतिक दल बनेको छ।नेपाली कांग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजूभाई, दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।पार्टीका सबै साथीहरुले गर्नु भएको मेहनतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु।संचार माध्यमले जनतालाई सुसूचित गर्ने गरि असल काम गर्नु भएको छ।वहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।नागरिक समाज, बुद्धिजिवि लगायत सबै शुभेच्छुक प्रति आभारी छु।म सम्पूर्ण दाजूभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईले दिनु भएको विश्वासमा ठेस लाग्न दिने छैनौं। नेपाली कांग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावना अनुसार काम गर्नेछ।हाम्रा असंख्य शहिदहरुको त्याग, तपस्या र बलिदानवाट हामीले प्रेरणा पाएका छौं।

संस्थापक नेता वि.पी. कोईराला, सुवर्ण शसशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशिल कोईराला लगायतका नेताहरुको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ। म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु। म नेपाली कांग्रेसको ईतिहासलाई पनि स्मरण गरिरहेको छु। देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परेपनि कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ। यो सुनौलो ईतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिईरहने छ । देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं। म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु शहिदहरुको बलीदान, नेताहरुको प्रेरणा र मार्ग निर्देश र साथीहरुको परिश्रम खेर जान दिईने छैन। हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं। देश र जनताको बृहत्तर हितमा काम गर्ने छौं। यो प्रतिनिधि सभामा नेपाली नेपाली कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ।

सभामुख महोदय

(९).   अन्तमा एक पटक पुनः नव नियुक्त प्रधानमंत्री माननीय पुष्पकमल दाहाल प्रचण्डजी र सबै माननीय सदस्यहरुलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु।

धन्यवाद। जय नेपाल।              

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .