ad ad

राजनीति


देउवा निवास धुम्बाराही पुग्दा...

सत्ता गुमे पनि ‘कुल’ छन् देउवा, कार्यकर्ता भेट्न भ्याइनभ्याइ
देउवा निवास धुम्बाराही पुग्दा...

केशव सावद
पुस २०, २०७९ बुधबार १९:७, काठमाडौँ

‘बाघको मुख खाए पनि रातै, नखाए पनि रातै,’ बुधबार बिहान धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र गौतमको निवास प्रांगणमा रेडियो नेपालका पत्रकार अजय बमसँग एकजना कानेखुसी गर्दै थिए। 

गौतमको निवास प्रांगणमा बुधबार बिहानैबाट नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुको घुइँचो थियो। त्यही घुइँचोमा केही पत्रकारहरु पनि मिसिएका थिए। उक्त निवासमा कांग्रेसका नेता–कार्यकर्ताहरुको घुइँचो लाग्नुको कारण हो– सभापति शेरबहादुर देउवा। 

सत्ताबाट बाहिर्गमन भएसँगै देउवा गौतमको घर बहालमा लिएर एक सातादेखि यहाँ बसिरहेका छन्। बुढानीलकण्ठस्थित निवासमा मर्मत कार्य चलिरहेका कारण देउवा गत बुधबार बालुवाटारको सरकारी निवासबाट सोझै धुम्बाराहीस्थित गौतमको घरमा सरेका हुन्। 

त्यसको भोलिपल्टबाटै यहाँ सभापति देउवासँग भेटघाट गर्न आउने कांग्रेसका नेता–कार्यकर्ताहरुको भिड लाग्ने गरेको छ। बुधबार बिहान सवा १० बजे नेपालखबरको टोली धुम्बाराही पुग्दा पनि केन्द्र, प्रदेश र जिल्ला तहका नेता, कार्यकर्ताको भिडभाड थियो। 

देउवाको भाडाको निवासमा लागेको भिडतर्फ इंगित गरेरै पत्रकार बमसँग ती व्यक्तिले भनेको थिए– ‘बाघको मुख खाए पनि रातै, नखाए पनि रातै।’ 

ती व्यक्तिले बाघको उदाहरण दिँदै सत्तामा रहे पनि र सत्ताबाट हटेपछि पनि कांग्रेसका नेता–कार्यकर्ताका लागि देउवा ‘सदाबहार’ नेता हुन् भन्ने आशयमा उक्त उखान प्रयोग गरेको अड्कल काटियो। 

भिडभाडको एक कुनामा ४–५ जनासँग गफिँदै गरेको अवस्थामा भेटिए, कांग्रेस प्रदेश १ कार्यसमितिका महामन्त्री भूपेन्द्र राई। उनी पनि केही साथीहरुका साथ सभापति देउवासँग भेटघाट गर्न धुम्बाराही पुगेको थिए।

सभापति देउवा प्रांगणबाट देखा नपरेपछि हामीले केही कांग्रेसका कार्यकर्ताहरुसँग जिज्ञासा राख्यौँ। केहीले थाहा नभएको प्रतिक्रिया दिए भने केहीले आफू पनि भर्खर मात्रै आइपुगेको जवाफ फर्काए। 

साथीहरुसँग हाँसोठट्टा गर्दै उभिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता मनिषजंग थापाले नेपालखबरको जिज्ञासा मेटाए, ‘शेरबहादुर दाइ र शेखर (कोइराला) दाइ भित्र कुरा गरिरहनुभएको छ रे।’ उनले आफू १० बज्नुभन्दा केहीअघि आइपुगेको र त्यसअघि नै देउवा–कोइरालाबीच कुराकानी सुरु भएको पनि जानकारी दिए। 

पुस १० गते सत्ता गठबन्धन टुटेपछि संस्थापन इतर समूहका केही नेताहरुले विशेष महाधिवेशनदेखि सभापति देउवाको राजीनामा मागिरहेका बेला इतर समूहको नेतृत्व गर्दै आएका कोइराला र सभापति देउवाबीच भेट भएको हो। 

सभापति देउवासँगको कुराकानीपछि हँसिलो मुद्रामा घरभित्रबाट निस्किएका नेता कोइराला केहीबेर नेता–कार्यकर्ताहरुसँग समान्य कुराकानी गरेर १०ः२५ मा धुम्बाराहीबाट बाहिरिए। 

उनी बाहिरिएको ५ मिनेटमै कांग्रेस संसदीय दलका नवनियुक्त मुख्य सचेतक रमेश लेखक धुम्बाराही भित्रिए। लेखक प्रवेश गर्दा सभापति देउवा घरबाहिर निस्किएर भेटघाटमा जुटिसकेका थिए। 

मुख्य सचेतक लेखकपछि धुम्बाराहीमा पूर्वसहमहामन्त्री सुनीलकुमार थापा प्रतिनिधि सभा सदस्य तथा संखुवासभा कांग्रेसका सभापति दीपक खड्काका साथ झुल्किए। उनीहरु सँगसँगै सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य डा. रणबहादुर रावल, प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू पनि देउवा निवास पुगे। 

लगत्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि नेताहरुको भिडमा देखिए। नेताद्वय लेखक र महतले छुट्टाछुट्टै सभापति देउवासँग कुराकानी गरे, मात्र ३–४ मिनेट। देउवासँग कुराकानी गर्न उनीहरु पालो कुरेर बसेका थिए।  

मुख्य सचेतक लेखक र प्रवक्ता महत कुराकानी गरेर बाहिरिएको केही समयपछि १०ः५५ बजे पूर्वमहामन्त्री डा. शशांक कोइराला स्वकीय सचिव भरत तिवारीका साथ धुम्बाराहीमा प्रवेश गरे। 

अन्य नेताहरु सभापति देउवासँग कुराकानी गर्न पालो कुरिरहे पनि नवलपरासी बर्दघाट–सुस्तापूर्व क्षेत्र नम्बर १ बाट निर्वाचित कोइराला भने सरासर देउवा बसेको स्थानमा पुगे। कोइराला पुग्दा देउवा नेविसंघका झण्डै एक दर्जन कार्यकर्ताहरुका साथ फोटो सेसनमा थिए। 

उनीहरुबीच केहीबेर ‘वन अन वन’ कुराकानी भयो। कुराकानी गरेर कोइराला देउवाबाट छुट्टिँदै गर्दा भिडभाडबाट केहीबेर अलप भएका पूर्वसहमहामन्त्री थापा र संखुवासभाका सांसद खड्का घरभित्रबाट बाहिरिए। थापा र खड्काले सभापति देउवासँग भेट्दा बिहानको ११ः०५ बजिसकेको थियो।  

भेटघाटबारे नेपालखबरले राखेको जिज्ञासामा पूर्वसहमहामन्त्री थापाले भने, ‘विशेष उल्लेखनीय केही होइन, समसामयिक राजीतिक कुराकानी मात्रै हो। फेरि हामीसँगै राप्रपाबाट आउनुभएका आशाराम चौधरीजीले भेट्ने इच्छा राख्नुभएको थियो। भेटघाटका लागि गएका थियौं।’

नेताहरु आएर सभापति देउवासँग के विषयमा कुरा गर्छन् त? उनीनिकट स्रोत भन्छ, ‘यही समसामयिक राजनीतिक कुराकानीहरु हो। आज (बुधबार) केन्द्रीय कार्यसमिति बैठकबारे छलफल भयो। अनि सभापतिसँग नेता–कार्यकर्ता भेटघाट गर्न पुगिहाल्छन् नि।’

सभापति देउवा र पूर्वमहामन्त्री कोइरालाबीच भएको कुराकानीका क्रममा सँगै रहेका तिवारीले पनि सामान्य कुराकानी भएको बताए। ‘सामान्य कुराकानी हो, भेटघाट मात्रै हो,’ उनले नेपालखबरसँग भने, ‘केन्द्रीय कार्यसमिति बैठक सरेको थाहा भइसकेको होला नि।’ 

देउवानिकट स्रोत र कोइरालाका स्वकीय सचिव तिवारीका अनुसार सभापतिले बुधबार नेताहरुलाई केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकका बारेमा छलफल गर्न नेताहरुलाई निवासमा बोलाएका थिए। 

कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो कार्यकाल प्रधानमन्त्री आफैँ बन्ने हठका कारण गठबन्धन टुटिसकेको छ। गठबन्धन टुट्दा कांग्रेसले पोल्टामा परिसकेको राष्ट्रपतिसहित प्रदेश सरकारसम्मका करिब सय पद गुमाएको छ। उता माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन गठबन्धनबाटै पहिलो कार्यकाल सरकारको नेतृत्व गर्ने योजना एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा पुरा गरेका छन्। 

पार्टीभित्रको दबाब भनेर माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि कांग्रेस अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायत पदबाट बञ्चित भएको छ। यसलाई लिएर कांग्रेस सभापति देउवाविरुद्ध पार्टीकै इतर समूहले घेराबन्दी गरेको छ।

उक्त समूहले कुनै औपचारिक निर्णय नगरे पनि केही नेताहरु सभापति देउवाविरुद्ध आक्रोश पोखिरहेका छन्। इतर समूहका नेताहरुले सार्वजनिक रुपमै सभापति देउवाले राजीनामा दिनु पर्नेदेखि विशेष महाधिवेशनबारे पनि आवाज उठाइरहेका छन्। 

यद्यपि, सभापति देउवा भने सत्ता गुमे पनि ‘कुल’ देखिन्छन्। उनी भेटघाटका लागि निवासमा आउने हरेक नेता–कार्यकर्तासँग छोटो भए पनि हँसिलो मिजासमा कुराकानी गरिरहेका देखिन्छन्। गठबन्धन टुटेपछि पार्टीभित्रै आलोचित बन्नु परे पनि उनी माओवादी अध्यक्ष प्रचण्डलाई भने दोष दिन तयार देखिँदैनन्। 

सामान्य भेटघाट र काम विशेषले धुम्बाराही पुग्ने नेताहरुले सभापति देउवासँग माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोड्नुको कारण बारे पनि जिज्ञासा राख्ने गरेका छन्। जवाफमा सभापति देउवा प्रायः भन्छन्– मिस्टेक भयो। 

बागमती प्रदेशमा पर्ने जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यसमेत रहेका एक सांसदले नेपालखबरसँग भने, ‘पार्टीभित्रकै नेता–कार्यकर्ता गाली गरिरहेका छन्। तर, सभापति गठबन्धन तोडेर गएका प्रचण्डलाई दोष दिने पक्षमा देखिनुहुन्न।’

‘यसमा प्रचण्डजीको केही दोष छैन। उहाँले पहिलो २ वर्ष म चलाउँछु। पछि तीन वर्ष तपाईं चलाउनुहोला भन्नुभयो। मैले पनि पहिलो २ वर्ष म, पछिका ३ वर्ष तपाईं भनेँ,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘उहाँ (प्रचण्ड) मान्न तयार हुनुभएन। साथीहरुको प्रेसरले गर्दा मैले पनि छाड्न सकिनँ। मिस्टेक भयो।’ 

पदको भागबण्डाका क्रममा देउवासँग भएका ‘वन अन वन’ छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले श्रीमती सीता दाहालको स्वास्थ्य अवस्थाका कारण पनि आफू पहिलो कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान राखेको स्रोतले दाबी गरेको छ। 

‘बालुवाटारमा हुने छलफलमा प्रचण्ड श्रीमतीको स्वास्थ्य अवस्था ठीक छैन, उनले मलाई प्रधानमन्त्री बनेको देख्ने इच्छा राखेकी छन् भन्नुहुन्थ्यो,’ देउवाको पारिवारिक स्रोतलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .