यो चाहिँ पक्का हो, ‘मलाई पनि राष्ट्रपति बन्ने चाहना छ’ भनेर झलनाथ खनालले मुख खोलेको भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ र २०७४ का दुबै निर्वाचनमा नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने थिएनन्। तर, मुख खोलेनन् भन्दैमा यो कुरा भन्नु गलत हुनेछ कि, त्यो बेला खनालमा राष्ट्रपति बन्ने लालसा छँदै थिएन।
राष्ट्रपतिका लागि सम्भावित उम्मेदवारका रुपमा खनालको नाम त्यो बेला चर्चामा नआएको पनि होइन। तर, प्रधानमन्त्री जस्तो शक्तिशाली–कार्यकारी पदमा पुगिसकेको व्यक्ति ‘सेरमोनियल’ हैसियतको राष्ट्रपति बन्नु हुँदैन भन्ने आवाज उठ्यो। त्यही कारण ओलीलाई पनि भण्डारीलाई नै राष्ट्रपति बनाउने (२०७२) र निरन्तरता दिने (२०७४) निर्णय गर्न सहज भयो।
२०७४ मा त अझ एमाले–माओवादीबीच एकता हुने पक्का थियो। यस्तोमा प्रचण्डको समेत साथ पाएपछि ओलीले सहजरुपमा दोस्रो कार्यकालको राष्ट्रपतिमा भण्डारीलाई अघि बढाए।
त्यसपछि प्रधानमन्त्री र राष्ट्रपति जस्ता दुई शीर्ष जिम्मेवारी सम्हालेर आफ्नो नाम इतिहासमा लेखाउने खनालको ‘योजना’ चाहनामै सीमित भयो।
आफ्नो परम्परागत निर्वाचनक्षेत्र इलाम–१ बाट तत्कालिन सत्तागठबन्धनको उम्मेदवार बनेका एकिकृत समाजवादीका सम्मानित नेता खनाल एमाले उम्मेदवार महेश बस्नेतबाट पराजित भएकाले प्रतिनिधि सभामा पुग्नसमेत यसपाली असफल भएका छन्।
यो निर्वाचनमा पराजित हुने खनाल एक्ला पूर्व प्रधानमन्त्री र सबैभन्दा शीर्ष नेता हुन्।
पराजित भएपनि खनाल कसैगरी प्रतिनिधि सभामा पुग्न चाहन्छन्। यो कुरा पुन मतगणनाको माग गर्दै अदालतमा उनले दायर गरेको मुद्दाबाट प्रष्ट हुन्छ।
२०७२ र २०७४ मा जस्तै राष्ट्रपति बन्ने चाहना त पक्कै मरिसकेको छैन। यो जिम्मेवारी आफूलाई प्राप्त हुने आशा पनि अब उनलाई छैन। किनभने, एमाले–माओवादी केन्द्रबीचको भागबण्डामा राष्ट्रपति एमालेको भागमा परिसकेको छ।
एमालेको भागमा परिसकेको राष्ट्रपतिको जिम्मेवारी एमालेबाटै विभाजित भएर बनेको एकिकृत समाजवादीका नेताले प्राप्त गरे भने त्यो ‘आठौँ आश्चर्य’ हुने खनालले पनि बुझेका छन्।
राष्ट्रपति बन्ने सम्भावना नदेखेका उनमा यही प्रतिनिधि सभाको सदस्य बन्ने चाहना भने जीवितै छ। जानकारहरुका भनाईमा, यसका लागि खनालले आफ्ना इलामे सहकर्मी सुवाष नेम्वाङ राष्ट्रपति बनेको देख्न चाहिरहेका छन्।
यहीकारण हुनसक्छ, निर्वाचनपछि खनाल एकिकृत समाजवादीका अन्य नेताहरुको तुलनामा एमालेप्रति अपेक्षाकृत नरम देखिन्छन्।
नेम्वाङ राष्ट्रपति उम्मेदवार बने भने उनी निर्वाचित इलाम–२ को प्रतिनिधि सभा सिट रिक्त हुनेछ। त्यो स्थितिमा इलाम–२ मा हुने उपनिर्वाचनबाट निर्वाचित हुने अवसर खनालले प्राप्त गर्न सक्छन्।
यही कारण खनाल एमालेप्रति नरम बन्दै गएको चर्चा एमालेबृत्तमा चल्ने गरेको छ।
खनालजस्तै गत निर्वाचनमा पराजयका कारण प्रतिनिधि सभामा प्रवेश गर्न नपाएका अर्का शीर्ष नेता जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव हुन्।
गत निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका सबै दलका अध्यक्ष निर्वाचित भए। तर, यादवमात्र राष्ट्रिय मान्यता प्राप्त दलका ‘अभागी अध्यक्ष’ भए, जसले प्रतिनिधि सभामा विजय हासिल गर्न सकेनन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतबाट उनी सप्तरी–२ मा पराजित भएका हुन्।
खनालजस्तै अध्यक्ष यादवपनि कुनै हिसावले प्रतिनिधि सभामा प्रवेश गर्न चाहेको र यही कारण नाटकीय रुपमा एमाले–माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भएको चर्चा एमाले बृत्तमा चल्न थालेको छ।
र, खनाल यादवलेपनि राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनलाई नै प्रतिनिधि सभा प्रवेशको माध्यम बनाउन चाहेको बताइन्छ।
यस्तो चर्चाको कारण वर्तमान सत्तागठबन्धनमा जसपाको सहभागिता र संसदीय दलको नेतामा महासचिव रामसहायप्रसाद यादवको चयन हो।
भनिन्छ, संसदीय दलको नेता चयन भएपनि महासचिव रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन चाहन्छन्, अध्यक्ष यादव। त्यसो हुँदा संसदीय दलको नेताको पदमात्र रिक्त हुँदैन, उनी निर्वाचित बारा–२ को प्रतिनिधि सभाको सिटपनि रिक्त हुन्छ।
यादव उपराष्ट्रपति निर्वाचित हुन सके भने रिक्त हुने सो क्षेत्रमा उपनिर्वाचन हुनेछ। र, अध्यक्ष यादवले त्यहाँबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।
प्रतिनिधि सभामा निर्वाचित भएपछि विगतमा झैँ पार्टी संसदीय दलको नेताको हैसियत उपप्रधानमन्त्री बनेर सरकारमा जाने बाटो सहज हुन्छ। अशोक राईलाई अहिल्यै संसदीय दलको नेता चयन गर्दा त्यो सम्भावना कमजोर हुन्छ।
गत निर्वाचनमा बारा–२ बाट निर्वाचित जसपा महासचिव यादवका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा थिए। विजयी यादवले १३ हजार ८ सय २२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कुशवाहालाई १३ हजार ४ सय ६८ मत प्राप्त भएको थियो।
अहिले एउटै गठबन्धनमा आवद्ध माओवादी केन्द्रको समेत साथ पाउँदा उपनिर्वाचनमार्फत् अध्यक्ष यादवलाई प्रतिनिधि सभामा निर्वाचित हुन कठिन हुने छैन।
उपनिर्वाचनमार्फत् प्रतिनिधि सभामा चयन हुने यही योजना अनुसार संघीय परिषदका अध्यक्ष राईको साटो महासचिव यादवलाई संसदीय दलको नेता चयन गरिएको हो।
अध्यक्ष यादवको अर्काे कदमले पनि उनी उपनिर्वाचनमार्फत् प्रतिनिधि सभामा आउन चाहन्छन् भन्ने कुरालाई बल दिन्छ।
तत्कालिन सत्ता गठबन्धनमा अपेक्षा गरेअनुसार जसपाले उम्मेदवारी नपाउने भएपछि अध्यक्ष यादवले कांग्रेस–माओवादी केन्द्र–एकिकृत समाजवादी सहितको गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेका थिए।
तर, जब निर्वाचन समाप्त भयो, उनले एमालेसँगको सहकार्यपनि अन्त्य भएको सार्वजनिक घोषणा गरे।
कांग्रेस–माओवादी केन्द्र–एकिकृत समाजवादीसहितको गठबन्धनकै सरकार निर्माण हुने र जसपापनि त्यही गठबन्धनमा सहभागी भएर भागबण्डामा सामेल हुने योजना अनुसार अध्यक्ष यादवले एमालेसँगको सहकार्य समाप्त भएको घोषणा गरेका थिए।
तर, पहिलो चरणको प्रधानमन्त्री को बन्ने भन्ने विवादका कारण जब कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन तोडियो र विकल्पमा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन निर्माण भयो, ‘एमालेसँगको सहकार्य समाप्त भयो’ भन्ने घोषणा गरिसकेका यादवपनि एमाले–माओवादी केन्द्रसहितको गठबन्धनमा जसपालाई सामेल गराउन आइपुगे।
उनको यो ‘क्विक डिसिजन’ को कारण महासचिव यादवलाई उपराष्ट्रपति बनाउने र त्यसपछि खालि हुने बारा–२ मा आफै उम्मेदवार बनेर प्रतिनिधि सभामा छिर्ने योजना पनि हो।
पछिल्ला दुई निर्वाचन (२०७२ र २०७४) मा मधेशी समुदायका व्यक्तित्वले राष्ट्रपति र उपराष्ट्रपति बन्ने अवसर प्राप्त गरेनन्। त्यसैले, यसपटक कम्तिमा उपराष्ट्रपति यो समुदायबाट बन्ने सम्भावना ज्यादा छ।
त्यसो हुँदा सत्तागठबन्धनबाट जसपाकै उम्मेदवार उपराष्ट्रपतिका उम्मेदवार बन्ने सम्भावना ज्यादा रहन्छ। राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा जसपाको मतभार २ हजार भन्दा बढी भएकाले पनि यो दललाई सुनुवाई गर्नुपर्ने बाध्यता सत्तागठबन्धनलाई छ।
जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारी हुने स्थिति बन्नासाथ अध्यक्ष यादवको पहिलो छनोटमा महासचिव यादव पर्नेछन्।
तर, एमालेबाट नेम्वाङ वा अर्काे कुनै पुरुष व्यक्तित्व राष्ट्रपति निर्वाचित भएको अवस्थामा महासचिव यादव उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्ने छैनन्।
किनकी, नेपालको संविधान– २०७२ को धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।
नेम्वाङ राष्ट्रपति बनेको खण्डमा उपराष्ट्रपतिको उम्मेदवार महिलालाई बनाइनुपर्ने हुन्छ।
Shares

प्रतिक्रिया