सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन्।
अध्यक्ष ओलीले अहिले खेलकुदमन्त्री नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे।
खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा सरकारले राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने आश्वासन पनि दिए।
नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई थियो।
उनले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याए। उनले १५ दिनजतिमा सरकार विस्तार भइसक्ने पनि उल्लेख गरेका छन्।
‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईंहरुको यो अभिव्यक्ति हेरोस भन्ने चाहना र मागलाई सरकारसम्म पुर्याउँछु', उनले भने, ' अहिले त खेलकुद मन्त्री नै छैन। केही दिनभित्र भन्दा पनि १०–१५ दिन लाग्न सक्छ, खेलकुद मन्त्री आउन। तर १०/१५ दिनपछि भए पनि म उनलाई पनि तपाईँहरुको कुरा भन्छु। खेलाडीहरुको भनाइ छ–खेल क्षेत्रलाई सरकारले हेरोस्। त्यो कुरा म सरकारसँग राख्छु।’
Shares

प्रतिक्रिया