रौतहट क्षेत्र नम्बर २ का सांसद किरण साहलाई चुनाव जिताउन सहयोग गर्नेहरुले उनलाई गद्दार संज्ञा दिएका छन्।
नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवारहरुको प्यानल नै खडा गरेका थिए।
प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानबाट चुनाव लडेका किरण साहले बोली फेरेपछि उनलाई साथ दिने अभियानका सदस्यहरुले गद्दारको संज्ञा दिएका हु्न्।
उनीहरुले आफूहरुको मत फिर्ता गर्नुपर्ने पनि माग गरेका छन्। अभियानका क्षेत्रीय संयोजक श्रीभगवान पटेलले किरण साहले साथ छोडेर गद्दारी गरेको बताए।
संयोजक पटेलका साथै त्यस क्षेत्रका नेताहरु धर्मेन्द्र पटेल, त्रिभुवन साह, सन्तोष मेहता, फजिले हक, मोहन मेहता, रामबाबु कुश्वाहा लगायत नेताहरुले किरणविरुद्ध उभिएका छन्।
तत्कालीन जनता समाजवादी पार्टीका रौतहट अध्यक्ष एवम् त्यही क्षेत्रमा पर्ने देवाही गोनाही नगरपालिकाका पूर्वमेयर धर्मेन्द्र प्रसाद पटेलले किरणले जनमतको अपमान गरेको प्रतिक्रिया दिए।
'प्रभुजीको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन रौतहटकाअधिकतम सदस्यहरुसहित पार्टी परित्याग गरेका थियौँ। म जसपा जिल्ला अध्यक्ष थिएँ। तर प्रभु साह नेतृत्वमा चुनाव लडेका स्वतन्त्र प्यानललाई साथ दिन त्यागको बाटो रोजेँ', उनले भने, 'त्यहीअनुसार हामीले रौतहट २ मा किरण साहलाई साथ दिएका थियौँ। तर आज उनले गद्दारी गरे। यसले हामी नेता मात्रै नभइ जनताको मन दुखेको छ।'
तत्कालीन एमालेका रौतहटअध्यक्ष एवम् बौधीमाई नगरपालिकाका मेयर प्रत्यासी त्रिभुवन साहले आफ्नै थालमा थुकेको बताए। साहले नैतिकताको आधारमा जनताको मत फिर्ता गर्नुपर्ने उनले बताए।
ईशनाथ नगरपालिका पूर्वमेयर सन्तोष मेहताले पनि किरणको हर्कतले आफूहरुको चित दुखेको गुनासो गरेका छन्। उनले किरणलाई साथ दिनु भूल भएको प्रतिक्रिया दिए।
किरण साह बिहीबार प्रभु साहले गठन गरेको आम जनता पार्टीमा आवद्ध भएका छन्। उनले त्यस पार्टीमा संसदीय विभाग इन्चार्जको जिम्मेवारी पाएका छन्।
Shares

प्रतिक्रिया