दुई वर्षअघि २०७७ पुस ४ गते साँझ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास पुग्दा देशको राजनीतिक अवस्था तनावपूर्ण थियो।
विवादले चर्को रुप लिँदै गर्दा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा खारेजीमा परेको थियो। प्रचण्ड-माधव नेपाल समूहसँगको द्वन्द्वले चर्को रुप लिँदा २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गरिदिए।
पार्टीमा अल्पमत परेपछिको संकट टार्न उनले चलाएको उक्त हतियार लामो समय काम लागेन। फागुन दोस्रो साता प्रतिनिधिसभा पुनर्स्थापित भयो।
त्यसअघि प्रचण्ड–माधव नेपाल समूहले ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै २०७७ असोजदेखि नै ओलीलाई प्रधानमन्त्री र नेकपाको अध्यक्ष पद त्याग्न दबाब दिएका थिए।
त्यही दबाब बढाउने क्रममा तत्कालीन नेकपा सचिवालयमा बहुमत रहेका प्रचण्ड-माधवले ओलीविरुद्ध १९ पेज लामो दस्तावेज नै पेश गरे। जसलाई प्रचण्डले 'हेड क्वार्टरविरुद्धको बमबार्ड' नाम दिएका थिए।
त्यो दस्तावेज नेकपामा दर्ता भएसँगै अब पार्टी एक नरहने अनुमान भइसकेको थियो। अब नेकपा विभाजित हुनेमा दुवै समूह निष्कर्षमा पुगिसकेका थिए।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद त्याग्नुपर्ने प्रचण्ड-माधवको दबाबलाई ओलीले बेवास्ता गरिरहे। पार्टीमा बहुमत कायम गरेका दुई नेताको दबाबबीच ओली आफ्नो अडानमा रहिरहे, पार्टीभित्रको विवाद बरु संसद विघटनसम्म पुग्यो।

पार्टीभित्र अल्पमतमा परेपछिको दबाबबीच उनी २०७७ पुस ४ गते प्रचण्डको खुमलटारस्थित निवास पुगेका थिए। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि रुष्ट भएका प्रचण्डलाई अन्तिम सन्देश दिन पुगेका ओली र प्रचण्डबीच त्यहाँ भनाभनको अवस्था आयो।
अध्यादेश फिर्ता नलिए एक्सन लिने प्रचण्डको चेतावनीको भोलिपल्टै ओली उनलाई भेट्न पुगेका थिए। दबाबबीच ओली अध्यादेश फिर्ता लिन तयार भएनन्।
बरु उनले खुमलटारमा प्रचण्डलाई १९ पृष्ठको आरोपपत्र फिर्ता लिए अरु कुरा मिल्न सक्ने बताए। दुवैले आफ्नो अडान छाडेनन्। ओली खुमलटारबाट बालुवाटार फर्किए।
भोलिपल्ट पुस ५ मा आफूविरुद्ध संसद सचिवालयमा नेकपाका बहुमत सांसदले अविश्वास प्रस्ताव हाल्ने सूचना पाउनेबित्तिकै उनले संसद नै विघटनको सिफारिस राष्ट्रपतिकहाँ गरिदिए।
त्यसपछि नेकपा विधिवत रुपमा दुई समूहमा विभाजित भयो। बहुमतसहित रहेका प्रचण्ड र नेपालले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाइदिए। तर त्यो निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएन।
यो विवादबीच दोस्रो पटक ओलीले संसद विघटन गरिदिएका थिए। तर २०७८ असार २८ गते सर्वोच्च अदालतले संसद फर्काउँदै कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा परमादेश दिएसँगै ओली बालुवाटारबाट बालकोट पुगे।
नेकपा विभाजनसँगै खुमलटार र बालकोटबीच सम्बन्ध टुटेको दुई वर्ष भइसकेको छ। दुई वर्ष प्रचण्डले कांग्रेससँग सहकार्य गरेपछि आइतवारदेखि पुरानै सहयात्री ओलीको हात समातेका छन्। उनी एमालेको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका छन्।

दाहाल आइतवार सात दलीय गठबन्धन बन्दा दुई वर्षपछि बालकोट पुगे। बालकोटकै त्यही निर्णयबाट उनी देशको ४४ औँ प्रधानमन्त्री भइसकेका छन्।
संसदको दोस्रो ठूलो दल नेकपा एमालेको समर्थन लिएर प्रचण्ड प्रधानमन्त्री बनेसँगै ओलीसँग उनको शत्रुतापूर्ण सम्बन्ध सकिएको छ। अब बरु ओली र प्रचण्डले दुवै पार्टीका कार्यकर्ताको मनमा वाम एकताको लड्डु फुटाइदिएका छन्।
२०७७ पुस ४ मा खुमलटारमा भनाभन गरेर फर्किएका ओली २०७९ पुस १३ गते फेरि पुग्दा परिस्थिति फेरिइसकेको छ।
ओली खुमलटार पुग्दा उनलाई प्रचण्डको परिवारले न्यानो स्वागत मात्रै गरेन, फेरि सहयात्रा थालेकोमा कृतज्ञ पनि देखियो।
प्रचण्डले पाँच दलीय गठबन्धन छाड्दा ओलीले दुई वर्ष लामो घेराबन्दी तोडेका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा 'किङ मेकर' बनेका ओलीका लागि अब खुमलटारको आँगन फेरि प्यारो बनेको छ।
करिब एकै रङ सुटमा प्रचण्डसँग नारिएर ओलीले खुमलटारको छतमा चढ्दा रसिला सुन्तलबाट स्वागत पाए।
ओलीको स्वागतका लागि प्रचण्डको सिंगो परिवारसँगै उनको सचिवालयको टोली पनि छतमा निस्कियो। जहाँ हँसिया हथौडा अंकित फलामे कुर्सीमा बसेर दुवै नेताले घाम तापे।
ओलीका लागि त्यहाँ प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा दाहालकी छोरी स्मिता दाहालले सुन्तला दिएर स्वागत गरिन्।
त्यसक्रममा ओलीको साथमा स्वकीय सचिव राजेश बज्राचार्य पनि देखिए। ओलीले स्वकीय सचिव बज्राचार्यसँगै निजी सचिव राजन काफ्लेलाई पनि लगेका थिए।

प्रचण्डको तर्फबाट छोरी गंगा, नातिनी स्मिता, स्वीकय सचिव रमेश मल्ल र प्रेस सल्लाहकार सूर्य किरण पनि त्यहाँ देखिए। प्रचण्डका ज्वाइँ एवम् प्रदेशसभा सदस्य जीवन आचार्य पनि त्यहीँ थिए।
दुई नेता छतबाट ओर्लिएर अलग्गै वार्तामा बसे। त्यस वार्तामा सरकारलाई प्रभावकारी बनाउनेबारे कुरा भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।
'उहाँहरुबीच सरकारका नीति कार्यक्रम के के बनाउने? सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा भयो', उनले भने, 'मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएका निर्णय कार्यान्वयनबारे पनि कुरा भएको छ।'
मल्लले यसबारेमा बिहीबार फेरि बालुवाटारमा छलफल गर्ने गरी भेटवार्ता टुंगिएको बताएका छन्।
'भोलिको छलफलले थप निर्णय गर्नेछ। अहिले गठबन्धनभन्दा पनि सत्ता साझेदारीबारे कुरा भयो', उनले भने, 'आज मन्त्रिपरिषद् विस्तारबारेमा कुरा भएन। सरकारको नीति तथा कार्यक्रममा छलफल भएको छ।'
Shares

प्रतिक्रिया