राजनीति


ओली र नेपाल शीतल निवासमा सँगै बसे, तर एक वचन बोलेनन्

ओली र नेपाल शीतल निवासमा सँगै बसे, तर एक वचन बोलेनन्

शीतल निवासमा सँगै बसेमा ओली र नेपालसहितका नेताहरु


नेपालखबर
पुस ११, २०७९ सोमबार १९:१५, काठमाडौँ

आफूसँगको दुई वर्ष लामो सहकार्य तोड्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फेरि सहकार्य थालेका छन्।

तत्कालीन नेकपा रहँदा प्रचण्ड र माधव नेपाललले मिलेर ओलीविरुद्ध घेराबन्दी गरेका थिए। प्रचण्डकै भाषामा २०७७ असोजमा ओलीमाथि माधव नेपालको समेत सहयोगमा १९ बुँदे बमबार्ड गरिएको थियो।

उक्त बमबार्डदेखि झन् चर्किएको संघर्ष २०७७ पुस ५ को संसद विघटनसम्म पुग्यो। त्यसपछि नेपाल र दाहाल मिलेर पुस ७ गते ओलीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारवाही चलाए। दाहाल-नेपालको बहुमत हुँदा चलाइएको उक्त कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ओलीको राजनीतिक करिअर सकिनबाट जोगियो।

त्यसपछि प्रचण्डसँगै पेरिस डाँडा उक्लिएका माधव नेपाल २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमालेतिरै फर्किए तर ओलीले उनका लागि दैलो उघार्न तयार भएनन्। 

यस्तो विवादबीच देउवाले दोस्रो पटक संसद विघटन गरिदिएपछि नेपाल र दाहालले उनलाई सत्ताबाट हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गरे।

देउवालाई प्रधानमन्त्री बनाउन मागसहित दिएको निवेदनमा राष्ट्रपतिको कार्यालयले सुनुवाइ नगरेपछि उनीहरु सर्वोच्च पुगे। सर्वोच्चले देउवाको पक्षमा परमादेश मात्रै दिएन ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइदियो।

विवादबीच ओलीसँग भएको १० बुँदे सहमति स्वीकारेका नेपालले अन्तत: नयाँ पार्टी नेकपा एकीकृत समाजवादी खोले। २०७८ साउनमा खुलेको उक्त पार्टीले स्थानीय निर्वाचनमा राम्रै नतिजा ल्यायो।

तर मंसिर ४ को निर्वाचनमा उसले कांग्रेस र माओवादीको बल पाउँदासमेत प्रत्यक्ष १० सिट मात्रै जित्यो। समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउन नसक्दा राष्ट्रिय पार्टी हुन सकेन। 

निर्वाचनबाट गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसक्दाको संकट अन्तत: देउवालाई बालुवाटारबाट बूढानीलकण्ठ पुर्‍याउने परिणाममा परिणत भएको छ।

आइतवार प्रचण्डले सत्तारुढ पाँच दलीय गठबन्धनको डुंगा छाडेर एमाले नेतृत्वको सात दलीय गठबन्धनको नयाँ डुंगा चढिसकेका छन्। उनले सोमबार प्रधानमन्त्री पदको शपथ पनि लिए।

तर उनी तेस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा राष्ट्रिय पार्टीसमेत हुन नसकेो समाजवादी अध्यक्ष नेपाल अलपत्र झैँ भएका छन्। प्रचण्डले गठबन्धन फेरेकै दिन समाजवादीको सचिवालय बैठकले पर्खिने र हेर्ने नीति लिएको छ। प्रचण्डले समाजवादीलाई पनि सरकारमा ल्याउन पहल गर्ने सोमबार बताएका छन्।

तर उनको यो कुरामा तत्कालै एमाले अध्यक्ष ओली तयार हुने संकेत देखिएको छ। माओवादीसँग एकता गर्ने गत भदौमा बनेको संयोजन समिति पनि अलपत्र परेको अवस्थामा नेपालले पार्टीलाई अघि बढाउने चुनौती थपिएको छ।

गठबन्धन भत्किएपछि विष्मयमा परेका नेपाल र दुई वर्ष लामो घेराबन्दी तोडेर ठूलो सफलता हात पारेका ओलीबीच सोमबार प्रचण्डले शपथ लिने क्रममा भेट भयो।

राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्री ओली, नेपाल र अर्का पूर्वप्रधानमन्त्री डा. बाबुरामलाई लहरै राखेको थियो। जहाँ सबैभन्दा वल्लो छेउमा पूर्व उपराष्ट्रपति परमानन्द झा, त्यसपछि ओली, अनि नेपाल, अलिक पर भट्टराई र पल्लो छेउमा मन्त्रिपरिषद्का तत्कालीन अ्ध्यक्ष  खिलराज रेग्मी थिए।

करिब आधा घण्टा चलेको शपथग्रहणका क्रममा ओली र नेपाल सँगै त बसे तर बोलचाल गरेनन्। उनीहरुबीचको शारीरिक हाउभाउले अझै पनि एकअर्कालाई स्वीकार्ने अवस्था नरहेको प्रष्टै देखाउँथ्यो।

अर्कातिर दुई वर्षदेखि कटू आलोचक बनेका डा. भट्टराईले भने ओलीसँग संसद भवनमै हात मिलाइसकेका थिए। गत निर्वाचनमा माओवादीसँग सहकार्य गरेकाले नेपाल समाजवादीका अध्यक्ष भट्टराई पनि संसद भवन पुगेका थिए।

यसअघि दुई वर्ष लामो तिक्ततापूर्ण सम्बन्ध तोड्दै ओली र दाहालले शीतल निवासमै गत बुधबार कानेखुसीसहित वार्ता गरेका थिए। 

संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ लिने क्रममा खुलेको दाहाल-ओली संवाद बिहीबार संसद भवनमा पनि झन् बढ्यो।

अन्तत: त्यही संवादले गति लिएपछि दाहालले देउवा र नेपालसँगको सहकार्य तोडेर ओलीसँग फेरि सहकार्य थालेका छन्। यस्तोमा दाहालसँग जस्तै नेपालसँग पनि ओलीको सहकार्यबारे अनेक कोणबाट चर्चा भइरहेको छ। तर उनीहरु शीतल निवासको चौरमा सँगै बसेर पनि संवादहीन रहेर करिब आधा घण्टा समय कटाएर बिदा भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .