ad ad

राजनीति


बिना विभागीय मन्त्री बनेकी ज्वाला साह को हुन्?

बिना विभागीय मन्त्री बनेकी ज्वाला साह को हुन्?

जयन्त ठाकुर
पुस ११, २०७९ सोमबार १९:७, जनकपुरधाम

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ४४औँ प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रचण्ड नेतृत्वको सरकारमा सोमबार ८ जना मन्त्रीहरुले समेत पद तथा गोपनीयताको शपथ लिए।

८ जना मध्ये नेकपा एमालेको मधेश प्रदेशको सह–इन्चार्जसमेत रहेकी ज्वालाकुमारी साह समेत मन्त्री बनेकी छन्। उनी बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएकी हुन्। 

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्वाला लामो समय नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेकी थिइन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा विभाजित हुँदा ज्वालाले एमाले रोजिन्।

विस. २०३८ कार्तिक ११ गते जन्मिएकी ज्वालाले राजनीति विरासतमै पाएकी हुन्। बाराको लौतन गाउँमा जन्मिएकी ज्वालाका बुवा खेदु साह कानू समेत एमालेमा सक्रिय राजनीति गर्थे। बुवाबाटै प्रभावित भएर उनी केही वर्ष एमालेमा रहेर राजनीतिक गतिविधिमा लागिन्।

तर बाल्यकालदेखि नै विद्रोही स्वभावकी ज्वाला जनयुद्धमा होमिएको माओवादीको विद्यार्थी संगठनमा रहेर काम गर्न थालिन्। २०५४ सालदेखि माओवादीको विद्यार्थी राजनीतिमा सक्रिय उनी २०५७ सालमा माओवादीको महिला संगठनको बारा जिल्ला अध्यक्ष भइन्। 

जनयुद्धमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी ज्वालाले त्यही क्रममा २०६० सालमा जनवादी विवाह गरिन्।

माओवादी जनयुद्ध त्यागेर मूलधारको राजनीतिमा आएलगत्तै २०६५ सालमा संविधानसभाको निर्वाचन भयो। माओवादी केन्द्रले उनलाई संविधानसभा सदस्य बनायो। ज्वालालाई २०६८ सालमा भूमि सुधार राज्यमन्त्री बनाइएको थियो । 

माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै पार्टीको महिला संगठनको केन्द्रीय उपाध्यक्षसम्म भएकी ज्वाला २०७४ को निर्वाचनमा बारा ३ (क)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी थिइन्। 

२०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा ज्वालालाई बारा जिल्ला सह–इन्चार्जको जिम्मेवारी दिइएको थियो। 

तर दुई वर्ष अगाडि फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आ– आफ्नो बाटो लाग्न फैसला गरेपछि ज्वालाले एमालेको बाटो रोजेकी थिइन्। सोही कारण उनलाई प्रदेशसभा सदस्यको पदसमेत गुमाउनु परेको थियो।

प्रदेशसभा सदस्य पद गुमाएको केही दिन नबित्दै ओली नेतृत्वको सरकारमा उनलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर सर्वोच्च अदालतको फैसलाका कारण त्यो सरकार १८ दिनसम्म मात्रै चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .