नेकपा (मसाल) ले एमालेसँग साँठगाँठ गरी प्रधानमन्त्री बनेर पुष्पकमल दाहाल प्रचण्डले जनतालाई धोका दिएको बताएको छ।
महामन्त्री मोहनविक्रम सिंहले आइतबार एक वक्तव्य प्रकाशित गरी ‘प्रतिगामी भूमिकामा रहेको एमाले’लगायतसितको साँठगाँठमा दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु जनतासितको धोका भएको बताएका हुन्।
गत निर्वाचनमा प्रतिगमनविरुद्ध चुनावी तालमेल गरी फेरि एमालेसित नै प्रधानमन्त्रीका लागि साँठगाँठ गर्नुलाई प्रचण्डको सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य बताइएको छ।
‘पाँचदलीय गठबन्धनले लामो समयदेखि एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्दै आएको थियो। गत निर्वाचनमा प्रतिगमन विरुद्ध पाँचदलीय चुनावी तालमेलसमेत गरेको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो। त्यो कार्य जनतासित ठूलो धोका पनि हो।’
प्रचण्डले प्रतिगामी शक्ति मात्रै होइन, अमेरिकी र भारतीय साम्राज्यवादी तत्त्वसँग पनि प्रधानमन्त्रीका लागि गठबन्धन गरेको मसालको आरोप छ।
‘प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित पनि गठबन्धन गरेका छन्’ मसालले भनेको छ, ‘उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ।’
Shares

प्रतिक्रिया