धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङविरुद्ध दलहरुले मोर्चाबन्दी थालेका छन्।
गत वैशाखको निर्वाचनमा स्वतन्त्र उठेर जितेका मेयर साम्पाङले नेपाली कांग्रेस र नेकपा एमालेसहितबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बाइपास गर्न खोजेको भन्दै दलहरुले मोर्चाबन्दी गरेका हुन्।
गत असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि कार्यपालिका सदस्य अनुप देवानले बोलिरहँदा मेयर साम्पाङले निस्केर जान भनेदेखि सुरु भएको तनाव चुलिँदै गएको हो।
त्यही प्रकरणदेखि दलबाट निर्वाचित कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले मेयर साम्पाङविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्।
हजारौँ शहिदहरुको बलिदान र लाखौँ लाख पार्टी कार्यकर्ता र नेपाली जनताको रगत र पसिनाबाट स्थापना भएको लोकतान्त्रिक व्यवस्थामा एउटा निर्वाचित जनप्रतिनिधीलाई आफ्नो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उदण्डसहितको अधिनायकवादको उदय हुन लागेको आभाष भएको छ', उनीहरुले भनेका छन्, 'नेतृत्वको हैसियतमा समस्या समाधानको पहलकदमी लिने र यस्तो अवस्थामा अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर पत्रकार सम्मेलन गरि कार्यपालिकाका सदस्यहरुलाई धम्क्याउँदै राजीनामा दिनु भन्ने शब्द प्रयोग गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।'
दलहरुले मेयरमा दम्भ बढेको पनि बताएका छन्। 'केवल आफूलाई प्राप्त मतलाई बहुमत भन्दै, दम्भ राखी आफू जस्तै जननिर्वाचित प्रतिनिधिहरुको राजीनामा माग्नु कुन नैतिकता हो?', उनीहरुले भनेका छन्, 'समस्या समाधान गर्न छाडेर नेतृत्व आफैँ प्रतिवादमा उत्रने कार्यले धरानवासी जनताले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहानालाई कुठाराघात गरेको हाम्रो ठहर छ।'
दलहरुले समस्या समाधान गर्नुभन्दा बल्झाउने कार्य मेयरले गरिरहेको बताएका छन्। 'तसर्थ नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई सम्वाद र छलफलद्वारा समस्याको सामाधान खोज्न र सामूहिक नेतृत्वसहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न सुझाव प्रस्तुत गर्न चाहान्छौँ', उनीहरुले भनेका छन्।
दलहरुले देशको परिवर्तनमा कुनै भूमिका नभएकाहरुले चलखेल गर्न खोजेको पनि बताएका छन्। 'यसरी मुलुक परिर्वतनलाई संस्थागत गर्ने चरणमै रहेको बेला केही तत्वहरुको सलवलाहट शुरु भएको छ', उनीहरुले भनेका छन्, 'तथापि यो यथाथर्तालाई ओझेलमा पार्ने दुस्साहसका साथ हिजोको परिवर्तनमा कुनै भूमिका नभएका दम्भेषीहरुको अराजकता शुरु भएको छ।'
यसरी मेयरविरुद्ध मोर्चाबन्दी गरेर विज्ञप्ति निकाल्नेहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्।

Shares

प्रतिक्रिया