नेपाली सेना र भारतीय सेनाबीच शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास शुरु हुने भएको छ।
सैन्य अभ्यासमा भाग लिन भारतीय सेनाको टोली आज बुधबार नेपाल आइपुगेको छ। नेपाल—भारत सीमा नजिक रुपन्देहीको सालझन्डीमा संयुक्त सैन्य अभ्यास हुन लागेको हो।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। नेपाल र भारतका सेनाबीच ‘सूर्यकिरण’ नामक सैन्य अभ्यास हरेक वर्ष एकअर्को देशमा आलोपालो हुने गर्छ।

सूर्यकिरण अन्र्तगतको १६ औं संस्करण नेपालको सालझन्डीमा शुरु हुन लागेको हो। १५ औं संस्करण भारतको पिथौरागढमा आयोजना भएको थियो, जसमा दुवैतर्फका गरी ६५० जना सैनिक जवान सहभागी भएका थिए।
‘यो वार्षिकरुपमा हुने नियमित सैन्य अभ्यास नै हो। अभ्यासमा भाग लिन भारतीय सैनिक टोली आजै आइपुगेको छ। पर्सि सैन्य अभ्यास शुरु भएपछि हामी विस्तृत जानकारी गराउने छौँ’ सिलवालले नेपालखबरसँग भने।

नेपालस्थित भारतीय दूतावासले पनि सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली आइसकेको जनाएको छ।
‘व्यवसायिक अनुभव आदानप्रदान गर्दै दुई देशका सेनाको मित्रता मजबुत पार्न सैन्य अभ्यास हुन लागेको हो’ दूतावासले ट्विटमा भनेको छ।

Shares

प्रतिक्रिया