संसदमा सधैँ गम्भीर राजनीतिका बारेमा मात्रै छलफल हुँदैन। कहिलेकाँही जनताको चुलोसँग सम्बन्धित विषयमा पनि सांसदहरुले कुरा राख्ने गरेका छन्। कतिले जनजीविकाका विषयलाई सदनमा उठाउँछन् भने केही सांसदहरुले जनता र आफ्नै दैनिकीसँग सम्बन्धित विषयलाई पनि उठाउँछन्।
सोमबारको राष्ट्रियसभाको बैठकमा सत्तारुढ समाजवादी पार्टीका सांसद रामप्रित पासवानले जनताको चुलोसँग सम्बन्धित विषयमा अनौठो प्रस्ताव राखे। त्यो विषय हो पछिल्लो दिन आकाशिएको प्याजको मूल्य।
भारतले आयात गर्न रोकेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ। यसै विषयमा उनले जनहितमा ‘प्याज स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सूचना टाँस्न सरकारको ध्यानाकर्षण गराए। ‘प्याज २ सय रुपैयाँ पुगेको छ, जो पायो उसले किन्नै नसक्ने अवस्था भयो। म सरकारलाई आग्रह गर्न चाहन्छु, प्याज खानु स्वास्थ्यका लागि हानिकारक छ भन्ने सूचना सबैतिर जारी गरियोस्,’ उनले थपे, ‘त्यो गरियोस् किनभन प्याज किन्न सकिँदैन, त्यो लेख्नुशिवाय हामीसँग कुनै विकल्प रहेन।’
अत्यधिक महंगीले गर्दा नेपाली जनता प्याज खान सक्ने अवस्थामा नभएको उनको भनाई छ। उनले सरकारले भनेको आर्थिक समृद्धि केही नेता र केही कर्मचारीको घरमा बाहेक अन्यत्र कतै नदेखिएको टिप्पणी पनि गरे।
Shares

प्रतिक्रिया