राजनीति


भ्रष्टाचार शून्य नीति लिएर संघीयता सफल पारौँ : प्रधानमन्त्री देउवा

भ्रष्टाचार शून्य नीति लिएर संघीयता सफल पारौँ : प्रधानमन्त्री देउवा

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १४:१८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यसो भनेका हुन्। 

उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अव नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता समेत औंल्याए। 

प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। 

जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाई, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेला सरकार लगायतका सबै सार्वजनिक सेवाहरुलाई प्रभावकारी रुपमा सबै तहमा लागु गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो। 

उनले भ्रष्टाचार शुन्य नीति लिएर अघि बढन पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे। 'गाउँपालिकालाई संगठित गराई प्रभावकारी रुपमा स्थानीय सरकार संचालन गर्न प्रतिनिधिमूलक संस्था गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तेस्रो अवधिसम्म आइपुग्दा यस अवधिमा आफ्नो उद्देश्य प्राप्तीमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु', उनले भने, 'भर्खरै मात्र हामीले प्रतिनिधिसभा र प्रदेशसभाको निष्पक्ष, भयरहित वातावरणमा आम निर्वाचन सम्पन्न गरेका छौँ। यसैगरी गत वैशाखमा स्थानीय तहको चुनाव स्वतन्त्र, निष्पक्ष सम्पन्न गरी स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्न थाली सक्नु भएको छ।'

संघीय सरकारले तदारुपता देखाई देश प्रदेश र स्थानीय तहलाई क्रमशः कानुन बनाउनु तथा संघीयतालाई सहजीकरण गर्नुपर्ने खाँचो रहेको उनले बताए। 

'पुराना कानुनहरुलाई संविधानअनुकूल बनाउन तथा निजी सेवा शिक्षा, स्वास्थ्यलगायतका विषयहरुको कानुन तत्काल बनाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने स्थिति छ', उनले भने, 'स्थानीय तहले संरचनात्मक सुधार, सेवा प्रवाहका लागि नवीन प्रविधिको उपयोग गरी सेवाग्राही केन्द्रित योजना बनाई अगाडि बढेका सुशासनलाई स्थानीय तहमा संस्थागत गर्न सकिनेछ।' 

प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिवी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सक्ने गरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताए। 

उनले दिगो विकास लक्ष्य अनुरुप अघि बढनगरी योजना तर्जुमा गर्न स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए। 

‘दिगो विकास लक्ष्य अनुरुप योजना तर्जुमालाई प्राथमिकतामा लिएर लक्ष्यप्राप्ती तर्फ उन्मुख भएर देशको शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छलफल हुन आवश्यक छ', उनले भने, 'अपार प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोग गर्ने कुरामा स्थानीय सरकारको भूमिका बढाउँदै मुलुकमा व्याप्त गरिवी, बेरोजगारी अन्त्य, लैगिक हिंसा, छाउपडी, दाइजो, जातीय छुवाछुत तथा बाल विवाहलगायतका सामाजिक कूरीति अन्त्य गर्न स्थानीय तहदेखि नै गर्न आर्थिक विकासलाई प्रवद्र्धन तथा सामाजिक सचेतना जागरण अभियानको रुपमा संचालन गर्न स्थानीय तहले आगामी दिनमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने गरी स्थानीय तहको क्षमता विकास गर्न जरुरी छ।'  

यस कार्यमा गाउँपालिका राष्ट्रिय महासंघले आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक रहेको उनले बताए। 

स्थानीय तहले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad