नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाई थियो।
बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै भने, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हो ओनसरी घर्ती। त्यसकारण यो अवसर भनेको यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ।’
उनले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहोर्याए।
अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरि जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए।
ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उनको आरोप थियो।
‘दुई वटा गठबन्धन छन्। हामी इमान्दार र खुला ढंगले भन्छौं। हाम्रो गठधन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो। अर्को पनि एउटा गठबन्धन छ। केपी ओलीको नेतृत्वमा। तर, उनीहरु गठबन्धन भन्दैनन्। गर्छन गठबन्धन। उनीहरु राजावादी छन्। राजतन्त्र फर्काउने कुरा गर्छन्। उनीहरु भित्र अलगाववादी छन्। देशको एकता खलबल पार्ने कुरा गर्छन्। उनीहरु दक्षिणपन्थी छन्’ उनले भने, ‘संविधान मिच्ने र च्याप्ने कुरा गर्छन्। अनि, फेरि भोट माग्न जनता कहाँ आउँछन्। मैले धेरैतिर भन्ने गरेको छु–त्यसरी आउनेहरुलाई जनताले सोध्नुपर्छ –तपाईंहरुलाई भोट किन चाहियो? संविधान च्यात्न अघिल्लो पटक सकिएन दुई तिहाई हुँदा पनि। संविधान च्यात्नका लागि भोट दिनोस भन्न खोज्नु भएको हो? यो प्रश्न सोध्नुपर्ने हुन्छ।’
अध्यक्ष दाहालले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने विश्वास समेत व्यक्त गरे।
उनले सत्तारुढ दलहरु प्रतिगामी शक्तिहरुलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिवद्ध रहेको पनि बताए।
Shares

प्रतिक्रिया