राजनीति


गुल्मी–१ मा ज्ञवाली र भण्डारी : दुवैलाई मत जोगाउने र थप्ने चुनौती

गुल्मी–१ मा ज्ञवाली र भण्डारी : दुवैलाई मत जोगाउने र थप्ने चुनौती

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ८:८, काठमाडौँ

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका  जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए।

क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार पाँच सय ७९ र प्रदेशसभा ९ख० मा ६१ हजार सात सय नौ मतदाता छन्। गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा  नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो। रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो। छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो। रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो। 

यहाँ ५० वडा छन्। २३ वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो। राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एकवटामा विजयी भएका थिए। 

स्थानीय तहमा सत्ता गठबन्धनले ३८ हजार सात सय ६२ र एमालेसहितको गठबन्धनले ३५ हजार आठ सय ८५ मत पाएको थियो।

एमालेभन्दा कांग्रेस गठबन्धनको दुई हजार आठ सय ७७ मत बढी छ। यहाँ कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धाको सम्भावना छ। वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेसका भण्डारी जित्न सक्छन्। तर स्थानीय तहको मत सुरक्षित नै हुन्छ भन्ने  हुँदैन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मत भण्डारीका लागि जितको आधार बन्न सक्छ। 

घरदैलो कार्यक्रममा मतदातासँग तस्बिर खिचाउँदै एमाले नेता प्रदीप ज्ञवाली। तस्बिर : ज्ञवालीको फेसबुकबाट।

एमाले विजयी हुन भने सत्ता गठबन्धनको मत तान्नुपर्ने हुन्छ। अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादी केन्द्रको साथ पाएर एमाले उम्मेदवार ज्ञवाली विजयी भएका थिए।

प्रदेशतर्फ
गत स्थानीय तहको निर्वाचनअनुसार प्रदेशसभा (क) मा सत्ता गठबन्धनको १८ हजार दुई सय ९५ मत छ। एमाले र राप्रपा गठबन्धनको १६ हजार पाँच सय ५४ मत छ। सत्ता गठबन्धनसित एक हजार सात सय ४१ मत बढी छ। यस क्षेत्रमा मुख्य गरी माओेवादी केन्द्रका सुदर्शन बलाल र एमालेका चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धाको अवस्था छ। कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु क्षेत्रका २, ५ र छ वडा यसमा छन्। यहाँ २६ वडा छन्। एमालेबाट निर्वाचित १२, कांग्रेसबाट १० र माओवादी केन्द्रबाट तीन छन्। जनमोर्चाका एक छन्।  

माओवादी केन्द्रका बलाललाई सहज जित निकाल्न वडाध्यक्षले पाएको मत सुरक्षित राख्नुपर्ने चुनौती छ। कांग्रेसको पूर्ण साथसमेत आवश्यक छ। एमालेका पाण्डेलाई जित निकाल्न चुनौती छ। जितका लागि आफ्नो मत सुरक्षित गर्दै गठबन्धनको मत पनि तान्न आवश्यक छ। 
 

घरदैलो कार्यक्रममा मतदातासँग भोट माग्दै कांग्रस नेता चन्द्र भण्डारी। तस्बिर : भण्डारीको फेसबुकबाट।

प्रदेशसभा (ख) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको २० हजार चार सय ६७ मत छ। एमाले र राप्रपा गठबन्धनको १९ हजार तीन सय ३१ छ। एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक हजार एक सय ३६ मत बढी छ। कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। यसमा गुल्मीदरबार, छत्रकोट, रुरु क्षेत्रका १, ३ र ४ र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका आठ वडा पर्दछन्। यहाँ २४ वडा छन्। कांग्रेसबाट निर्वाचित १३ वडाध्यक्ष, एमालेबाट निर्वाचित ११ वडाध्यक्ष छन्। 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसका कार्कीलाई जित निकाल्न सहज छ। उनलाई उक्त मत जोगाउन आवश्यक छ। प्रतिस्पर्धी पाण्डेले जितका लागि वडाध्यक्षमा पाएको मत सुरक्षित राखेर सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ। 

उम्मेदवारका योजना
छत्रकोट–४ का विष्णुप्रसाद न्यौपाने बिजुली, खानेपानी र सडक आवश्यक रहेको बताउँछन्। ‘हामीलाई आधारभूत कुराको खाँचो छ’, उनले भने। चन्द्रकोट–८ का रामबहादुर थापा सडक कालोपत्र गर्नुपर्नेमा जोड दिन्छन्। ‘सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुँदा सास्ती हुन्छ’, उनले भने।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले भौतिक पूर्वाधारलाई मुख्य एजेण्डा बनाएका छन्। कांग्रेसका भण्डारीको सालझण्डी–खज्र्याङ–तम्घास सडकखण्ड कालोपत्र गर्ने र प्रत्येक स्थानीय तहमा कृषि उद्योग खोल्ने मुख्य एजेण्डा छ।

एमालेका ज्ञवालीले राष्ट्रिय राजनीति र जिल्लाको मुहार फेर्ने एजेण्डा रहेको बताए। उनले कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रुरु–रुद्रवेणी–वामीटक्सार सडकलाई व्यविस्थत गर्ने बताए।

जिल्ला निर्वाचन कार्यालय गुल्मीले निर्वाचनको तयारी अन्तिम चरणमा पु¥याएको छ। यस क्षेत्रमा एक लाख ३२ हजार मतपत्र आइपुगेको छ। प्रदेशसभा (क) मा ६६ र (ख) मा ७० हजार मतपत्र आइपुगेको छ। कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार यहाँ एक सय ५० मतदान केन्द्र र ८१ मतदानस्थल छन्। जसमध्ये (क) मा ७५ मतदान केन्द र ४५ मतदानस्थल छन्। (२) मा ७५ मतदान केन्द र ३६ मतदानस्थल छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad