ad ad

राजनीति


मानुषी उत्साहित, के छ श्याम, रामवीर र राजेन्द्रको अवस्था?

मानुषी उत्साहित, के छ श्याम, रामवीर र राजेन्द्रको अवस्था?

सागर न्यौपाने
कात्तिक २६, २०७९ शनिबार १२:५१, काठमाडौँ

वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा काठमाडौं महानगरका मतदाताले ठूला दलका उम्मेदवारलाई नपत्याई मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई चुनेका थिए। महानगरकै चार वटा वडा पनि समावेश काठमाडौँ ७ मा आगामी निर्वाचनको हावा कता बहेको होला, यही बुझ्न नेपालखबरको टोली सो क्षेत्रमा गएको थियो।

महानगरका वडा नम्बर १६, १७, १८ र २५ मा ४१ हजारभन्दा बढी मतदाता छन्। त्यसबाहेक ७ नम्बर क्षेत्रमा नागार्जुन नगरपालिकाका १, २ र ३ वडा तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा पर्छन्।

दुई नगरपालिकाका ६ वटा वडामा २१ हजार मत छ। पुरुष २९ हजार ६ सय २७ र महिला ३१ हजार ६ सय ६४ सहित कुल ६१ हजार २ सय ९१ मतदाता छन्। 

यो क्षेत्र चर्चामा रहनुको अर्को कारण यहाँका उम्मेदवार पनि हुन्। यहाँ दलीयभन्दा स्वतन्त्र उम्मेदवार ज्यादा छन्। सत्ता गठबन्धनबाट अस्मिता सिंह (मानुषी यमी भट्टराई) उम्मेदवार छिन् भने नेकपा एमालेबाट श्यामकुमार घिमिरे र जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्रकुमार श्रेष्ठसहित १३ दलीय उम्मेदवार छन्।

अर्कोतिर एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका रामवीर मानन्धर लगायत १६ स्वतन्त्र गरी २९ जना उम्मेदवार काठमाडौं ७ बाट चुनावी प्रतिस्र्धामा छन्।

चुनावी प्रचार अभियान, घरदैलोमा उम्मेदवार प्रत्यक्ष खटिएका छन्। भेटघाट, बैठक र भेला गर्न उनीहरुलाई भ्याइनभ्याइ छ।

सरस्वती क्याम्पसबाट अगाडि बढेपछि सोह्रखुट्टेको साशा ब्यांक्वेटमा एमालेका प्रतिनिधि सभा उम्मेदवार श्यामकुमार घिमिरे कार्यकर्ता भेला पारेर चुनावमा अलि बढी सक्रिय हुन निर्देशन दिइरहेका थिए।

उनका लागि पार्टीबाटै असन्तुष्ट बनेर स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान सांसद रामवीर मानन्धरले ठूलो चुनौती खडा गर्ने आकलन गरिँदैछ। एमालेको केही मत मानन्धरले काट्ने विश्लेषण स्वयं एमालेले पनि गरेको छ।

झण्डै पचास जना उपस्थित कार्यक्रममा घिमिरेले संगठन बलियो भएकोले तटस्थ मत आफूतिर खसाल्ने वातावरण बनाउन लाग्नुपर्ने बताए। 
 
त्यस्तै, जसपा नेता राजेन्द्र श्रेष्ठले पनि एमालेकै मत ज्यादा काट्ने अनुमान छ। किनकि श्रेष्ठ पनि लामो समय एमालेमा राजनीति गरेका नेता हुन्।

तर, संगठन सुदृढ हुनाले आफू बलियो रहेको घिमिरेको दाबी छ।

‘हाम्रो बलियो संगठन छ, संगठनको पुरै मत रोकेर केही न्युट्रल मत हामीतिर तान्नुपर्छ,’ घिमिरेले भने।

उतिबेलै करिब २५ मिटर पर्तिर सम्राट ब्यांक्वेटमा गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई पक्षले महिला भेला राखेको थियो। 

एक महिनाको घरदैलो अभियानबाट गठबन्धन उत्साहित देखिन्छ। 

‘अहिले बेलुकासम्मको परिदृश्य कायम रहे काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराई सहित प्रदेश सभाका दुई जना उम्मेदवार निकै अगाडि हुनुहुन्छ,’ बुधबार साँझ सोह्रखुट्टेमा भेटिएका देवेन्द्रकुमार श्रेष्ठले नेपालखबरलाई सुनाए, ‘घरदैलोमा मतदाताले हामीलाई चाहिएको युवा र नयाँ अनुहार हो, मानुषीजी योग्य हुँनुहुँदो रहेछ भन्नुभएको छ।’

तर, यही परिस्थिति मंसिर ४ सम्म कायम रहन्छ कि रहँदैन भन्ने शंका छ।

‘यही अवस्था नरहन पनि सक्छ नि, राजनीति हो, धेरै कुराले फरक पार्छ, एकैछिनमा माहोल बदलिन सक्छ,’ मानुषीको चुनावी प्रचारमा खटिएका उनले थपे।

त्यही भएर मानुषीको चुनावी प्रचारमा गठबन्धनको पुरै शक्ति त लागेकै छ, उनका बुबाआमा बाबुराम भट्टराई–हिसिला यमी, आफन्त र छरछिमेकी पनि खटिएका छन्।

मानुषीले सबै मतदाताको घरमा एकसरो पुगी प्रत्यक्ष भेटेर फोन नम्बर समेत टिपेर ल्याएकी छन्। 

डा. भट्टराईले बुधबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रहेको सगुन रेस्टुरेन्टमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केही युवालाई आफ्नो पार्टीमा प्रवेश गराए।

सम्राट ब्यांक्वेटको महिला भेलामा हिसिलाले सम्बोधन गरिन्।

हिसिलाले २०६४ को पहिलो संविधान सभा चुनाव जितेको यही क्षेत्रबाट हो। २०७० को दोस्रो संविधान सभा चुनावमा उनी पराजित भइन्। 

गठबन्धनको एकताबद्ध अभियान, चुनावी रणनीतिबारे जानकार भट्टराई दम्पतीको दौडधुप र घरदैलोमा मतदाताको सकारात्मक प्रतिक्रिया पाएर मानुषी अन्य उम्मेदवारभन्दा अगाडि रहेको देवेन्द्रको विश्लेषण छ।

तर, सांगठनिक रुपमा बलियो एमाले मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका केही स्वतन्त्र उम्मेदवारले नतिजालाई फरक पार्ने सम्भावना देखिन्छ।

१६ नम्बर वडाको बालाजु हाइट पुग्दा ८२ वर्षका ललित भट्टराई खत्री भेटिए। उनले चुनावी परिणाम अहिले चर्चा भएको भन्दा फरक हुने संकेत पाएको बताए।

‘यहाँ चुनावको माहोल निकै फरक देख्दैछु,’ उनले भने, ‘यो चुनाव अर्कै किसिमको कडा हुने सुन्छु।’

उनले दलहरुले गरेको मत विश्लेषण पनि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा निकै फरक हुनसक्ने बताए।

‘यस क्षेत्रबाट कसलाई मत खस्छ केही भन्न सकिँदैन,’ उनले भने, ‘पुराना बाइपास गरेर नयाँलाई दिए राम्रो हुन्छ भनेर युवाहरु छलफल गरेको सुन्छु। कांग्रेस हेर्यौं, एमाले हेर्यौं भन्छन्।’ 

नागार्जुन नगरपालिका वडा नम्बर १ बाट रानीवन क्षेत्रभित्र प्रवेश गर्दा भने दलहरुकै आकर्षण देखियो।

टौडेल निवासी पार्वती क्षेत्रीले लगातार दुई वटा चुनावमा रामवीर मानन्धरलाई मत दिएको र स्थानीय तहमा भने मेयरमा बालेन्द्र शाह र वडामा मुकुन्द रिजाललाई मत दिए पनि यसपटक छान्ने सुरमा छिन्। 

‘पहिला घाम राम्रो, रामवीर बलियो, तर अहिले उनी घाममा छैनन्,’ उनले भनिन्, यसपटक पुरानो र नयाँ  हेरेर मत दिने हो।’  

काठमाडौं ७ मा दलहरुले आफ्नै किसिमले मत सर्वेक्षण गरिरहेका छन्।

अहिलेसम्म १७ र १८ नम्बर वडामा आफू बलियो रहेको जसपाका राजेन्द्र श्रेष्ठ बताउँछन्। नागार्जुन नगरपालिकाका तीन वटै वडामा आफ्नो पक्षमा माहोल बनेको र जित्ने आधार बनेको उनको भनाइ छ।

‘नागार्जुनको बौद्धिक जगतले पार्टीलाई होइन राजेन्द्र श्रेष्ठलाई सहयोग गर्न समिति गठन गरेर लाग्नुभएको छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘यसपटक मलाई जिताउन मेरो पर्सनालिटीले काम गर्छ।’

उनको विश्लेषणमा काठमाडौं ७ मा एमालेसँगै प्रतिस्पर्धा हुन्छ।

‘मेरो लागि गठबन्धन हुँदैमा असर गर्दैन, एमाले सांगठनिक रुपमा बलियो भए पनि यसपटक मैले मत पाउँछु,’ श्रेष्ठले थपे, ‘रामवीरले धेरै मत काट्ने अवस्था देख्दिनँ।’

काठमाडौं महानगरको चार वडामा निर्णायक मत रहेकोले आफूले साथ पाउने उनले बताए। 

तर, २१ हजार मत रहेको १६ नम्बर वडामा कांग्रेस बलियो छ। 

‘काठमाडौं ७ मा एमालेको सांगठनिक मत १२ हजार छ। तर, उनीहरुकै पार्टीको बागी उम्मेदवार भएकोले मत काटिन्छ,’ एक कांग्रेस नेताले भने, ‘हाम्रो पार्टीको एक्लै १४ हजार मत छ। माओवादी–एकीकृत समाजवादीको ४ हजार मत छ, गणितले पनि हामी जित्छौँ।’

तर, कांग्रेसको सबै मत गठबन्धन उम्मेदवारलाई खस्ने सम्भावना कम छ। पार्टीभित्रको असन्तुष्टिको स्वर पनि सुनिने भएकोले केही मत स्वतन्त्रलाई खस्न सक्छ।

स्थानीय तहको नतिजा 
काठमाडौं महानगरको १६, १७ र २५ तथा नागार्जुन नगरपालिकाको १ र तारकेश्वर नगरपालिकाको ३ र ५ वडा कांग्रेसले जितेको छ।

काठमाडौं महागरको १८, नागार्जुन नगरपालिकाको २ र ३, तारकेश्वरको ४ वडा एमालेले जितेको छ। 

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले १४ हजार १६७ मत पाएको छ। 

एमालेले १२ हजार २०२, नेकपा एकीकृत समाजवादीले ३ हजार आठ सय २, राप्रपाले ३ हजार २७ मत तथा माओवादी केन्द्रले ५७६ मत पाएको छ। 

गठबन्धनले एमाले नै प्रतिस्पर्धामा आउने विश्लेषण गरेको छ।

मानुषीलाई खासगरी रानीवान क्षेत्रबाट ज्यादा मत खस्ने गठबन्धनको प्रक्षेपण छ।

‘खसेको मतमा रानीवन क्षेत्रबाट ७० प्रतिशत माथि, नागार्जुन र तारकेश्वर नगरपालिकाको ६ वडाबाट ६० प्रतिशत मत हामीले पाउँछौँ,’ मानुषीको प्रचारमा खटिएका रोशन पोखरेलले ठोकुवा गरे।

गठबन्धनले यसरी हिसाब निकाले पनि सो क्षेत्रका धेरै उम्मेदवार भएकोले मत बाँडिने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .