राजनीति


अमेरिकाको निर्वाचनमा उम्मेदवार बनेका दुवै नेपाली विजयी

अमेरिकाको निर्वाचनमा उम्मेदवार बनेका दुवै नेपाली विजयी

फाइल फाेटाे : सराहना श्रेष्ठ र डा. ह्यारी भण्डारी। तस्बिर : रासस


मधुकर अधिकारी
कात्तिक २३, २०७९ बुधबार १८:४८, वासिङ्टन डिसी

अमेरिकाको निर्वाचनमा उम्मेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन्। 

मेरिल्यान्ड जनरल एसेम्बलीका लागि मेरिल्यान्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जितेका छन्। उनी कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बनेका हुन्। यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो। 

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए। यसका लागि उनले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए। 

ह्यारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी भएका छन्। कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गरेका छन्। डिस्ट्रिक्ट ८ बाट तीनजना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्रयाटका उमेदवार विजयी भएका छन्। ह्यारीले सबैभन्दा बढी मत पाएका छन्। 

उता सोही डिस्ट्रिक्टमा रिपब्लिकन पार्टीका उमेदवारहरू गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो हारे।

यसैगरी न्युयोर्क स्टेट एसेम्बलीको डिस्ट्रिक्ट १०३ न्युयोर्कबाट पहिलोपटक उमेदवार बनेकी सराहना श्रेष्ठ विजयी भएकी छन्।

छोटो समयमा राजनीतिक सफलता हात पारेकी सराहनाले जितसँगै न्युयोर्क स्टेट एसेम्बलीमा जित हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास बनाएकी छन्। 

विजयी भएपछि रासससँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले आफूलाई सहयोग गर्ने सम्पूर्ण नेपाली अमेरिकीलाई धन्यवाद दिए। विगतको कार्यकालमा आफूले १४ वटा बिल पास गर्न सफल भएको र केही बिल विचाराधीन अवस्थामा रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताए। 

उनले भने, ‘मैले आगामी चार वर्षमा एकतातिर मेरा मतदातासँग गरेको प्रतिबद्धताअनुसारको काम गर्नुछ भने अर्कातर्फ नेपाली अमेरिकीको मूलधारको राजनीतिमा थप सहभागिताका लागि संस्थागत ढङ्गले काम गर्नु पर्नेछ।’ 

मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपालीमूलका अमेरिकी खुसी भएका छन्।

‘यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुंगा साबित भएको छ’, अमेरिकाको मेरिल्यान्डमा रहेका डा श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाको नीति निर्माण तहमा नेपालीभाषीको प्रतिनिधित्वले  हामी नेपालीलाई गौरवको अनुभूति भएको छ।’

कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाइरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad