राजनीति


जितको कामना गर्दै कवि मुकारुङले प्रचण्डलाई दिए ‘बिसे नगर्चीको बयान’

जितको कामना गर्दै कवि मुकारुङले प्रचण्डलाई दिए ‘बिसे नगर्चीको बयान’

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार २०:५, काठमाडौँ

राजतन्त्र विरुद्ध २०६२–०६३ को आन्दोलनमा मात्र होइन, केपी शर्मा ओलीद्वारा दुईदुई पटक भएको संसद् विघटनविरुद्धको आन्दोलनमा समेत श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ प्रतिनिधि कविता बनेको थियो। 

आफूलाई निम्त्याइएका सभाहरुमा कवि मुकारुङ जनतालाई दासजस्तो ठान्ने अहंकारी शासकहरुविरुद्ध आफूले लेखेको त्यही मार्मिक व्यङ्ग्य कविता वाचन गर्थे। बहुलाएको बिसे नगर्चीमार्फत् परिवर्तनको हावा कता र कसरी बग्दैछ भन्ने कुरा कवि मुकारुङले कवितामार्फत् सुन्दर ढंगले अभिव्यक्त गरेका छन्।

त्यही कवितासहितको आफ्नो कविता संग्रह ‘बिसे नगर्चीको बयान’ कवि मुकारुङले आइतबार अपरान्ह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई उपहारस्वरुप प्रदान गरेका छन्। 

गोर्खा– २ मा प्रचण्ड तथा देशभरि वाम–लोकतान्त्रिक गठबन्धनको विजयको शुभकामनासहित कवि मुकारुङले आइतबार प्रचण्ड निवास खुमलटारमा भएको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डलाई सो पुस्तक उपहारका रुपमा प्रदान गरेका हुन्। 

‘हामी राजाको शासनविरुद्धको आन्दोलनमा पनि थियौँ, केपी शर्मा ओलीले संविधान तथा लोकतन्त्रको भावनाविरुद्ध संसद् विघटन गरेपछि पनि त्यसको विरुद्ध आन्दोलनमा उत्रियौँ,’ उनले भने, ‘ती दुवै आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी वाम–लोकतान्त्रिक गठबन्धनको हो, त्यसैमा उर्जा थपियोस् भनेर मैले उहाँलाई पुस्तक प्रदान गरेको हुँ।’ 

बिसे नगर्ची पृथ्वीनारायण शाहकालीन गोर्खाका सूचिकार थिए। राजा पृथ्वीनारायण शाक गोर्खा राज्य विस्तारका लागि सापटी माग्न जाँदा १ रुपियाँ मात्र दिएका थिए। ठूलो रकमको अपेक्षाका साथ जाँदा जम्मा एक रुपियाँ चन्दा पाएपछि राजा पृथ्वीनारायण शाह उनीसँग आक्रोशित भएका थिए।

जवाफमा बिसे नगर्चीले गोर्खा राज्यमा १२ हजार घरधुरी रहेको स्मरण गराउँदै आफू जसरी सबैले एक–एक रुपियाँ चन्दा प्रदान गरेमा १२ हजार रुपियाँ संकलन हुने अर्ती पृथ्वीनारायण शाहलाई दिएका थिए। 

तर, अढाई सय वर्ष लामो शाहकालीन शासन व्यवस्थाले आफूहरुलाई दमन र हेला–होचो गरेको र त्यसको विरुद्ध उत्रिनु परेको भाव कवि मुकारुङले ‘बिसे नगर्चीको बयान’ मार्फत् दिएका छन्। 

संयोगवस प्रचण्ड तिनै बिसे नगर्चीकै गृहजिल्ला गोरखा– २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। 

‘तपाईं मेरो कविताको पात्रकै जिल्लाबाट उम्मेदवार बन्दै हुनुहुन्छ,’ पुस्तक हस्तान्तरण गर्दै मुकारुङले प्रचण्डलाई भने, ‘त्यहाँबाट तपाईं विजय हासिल गर्दै हुनुहुन्छ, गोर्खाबाटै तपाईंको विजयको अर्थ र महत्व रहन्छ। त्यसप्रति ऐक्यवद्दताका लागि पनि यो पुस्तक तपाईंलाई उपहार दिएको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad