राजनीति


दार्चुलाबाट चुनावी अभियान सुरु गरेर ओलीले दिन खोजेको सन्देश

तिरतिरे खोल्सीलाई महाकाली भनेर भूमि हडप्यो, हामी फिर्ता गर्छौँ : ओली
दार्चुलाबाट चुनावी अभियान सुरु गरेर ओलीले दिन खोजेको सन्देश

गोकुल जोशी
कात्तिक १८, २०७९ शुक्रबार २२:३४, कञ्चनपुर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटिएको दार्चुलाबाट राष्ट्रिय चुनावी अभियानको सुरुवात गरेका छन्। उनले आफ्नो नेतृत्वको सरकारले अतिक्रमित भूमि समेटेर नेपालको नक्सा जारी गरेको भन्दै एमालेले सो भूमि फिर्ता ल्याउने दाबी गरे।

ओली ९ वर्षपछि शुक्रबार दार्चुला आएका हुन्। यसअघि उनी ०७० सालको चुनावमा गोकुलेश्वरमा भएको आमसभालाई सम्बोधन गर्न दार्चुला आएका थिए।

चुनावी अभियान उद्घाटन गर्दै ओलीले एमालेलाई सबभन्दा देशभक्त शक्तिका रुपमा प्रस्तुत गरे। करिब २५ मिनेट भाषण गरेका उनले प्रायः भारत र गठबन्धनमाथि निसाना साँधे।

दाचुर्लामा ओलीले एमालेका दिवंगत नेता प्रेमसिंह धामीको सालिकमा माल्यापर्ण गरेका थिए। दार्चुलाबाट अभियान सुरु गर्दै ओलीले एमालेको अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी भएको र एमालेले भूमि फिर्ता ल्याउने भन्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने कोसिस गरे।

सम्बोधनका क्रममा ओलीले चुनावी अभियान दार्चुलाबाट सुरु गर्नुको पछाडि दुई वटा कारण रहेको बताए, एउटा राष्ट्रियता र अर्को विकासको मुद्दा।

‘एक इन्च नेपाली भूमि कसैलाई छाड्दैनौँ, मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  हामीले नक्सा जारी गरेका छौँ, त्यसको ग्यारेन्टी गर्न चाहन्छौँ,’ उनले भने, ‘पछाडि परेको क्षेत्रलाई एमालेले विकासको मूलधारमा ल्याउँछ।’

भारतले सीमामा अनावश्यक झमेला गर्ने गरेको ओलीले बताए। भारतले नेपाली भूमि मिच्ने गरेर गतिविधि रोक्नु पर्ने उनले उल्लेख गरे। 

‘भारतले हाम्रो भूभागबाट अनावश्यक ढङ्गले, हामीले आफैँ बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उनले भने, ‘भारतलाई अहिले पनि भन्न चाहन्छु, नदी वरतिर सर्यो भनेर सीमा वरतिर सर्ने होइन, पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन।’

‘ठूलो भारतको सानो चित्त हुनुहुँदैन, खोला उता सर्यो कि सीमाना सारिहाल्ने,’ सम्बोधनका क्रममा ओलीले भने, ‘यति विशाल भारत छ, यत्ति सिमाना सार्छ, यो सुहाउँदैन, नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझछन्, यो भारतले गर्नुहँुदैन भनेर भारतलाई भनिरहेको छु।’

आफू प्रधानमन्त्री रहेका बेला भारतसंग समन्वय गरेर महाकालीमा झोलुङ्गे पुल निर्माण गरेर तुइन मुक्त बनाएको ओलीको भनाइ थियो।

चुनावपछि दार्चुला र धार्चुला जोड्ने महाकाली पक्की पुल निर्माण गरिने उनले आश्वासन दिए। 

‘चुनाव पछि दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाइनेछ, त्यसका लागि बहुमतको सरकार बनाउन दार्चुलाले एउटा सांसद पठाउने छ,’ उनले भने, ‘दार्चुलाको यो पहिलो सभाले विरोधीका आँखा तिरमिराएका छन्।’

महाकाली नदीको समस्या नेकपा एमालेले समाधान गर्ने पनि उनले बताए।

‘मुख्य समस्या नदी नियन्त्रणको छ, महाकाली नदीले दार्चुला बजारलाई बगाउने पाउने छैन, यसको ग्यारेन्टी एमालेले गर्छ, तटबन्ध निर्माण गर्छौं,’ उनले भने।

दार्चुलामा बाटो एमालेको पुर्याएको बताउँदै ओलीले अब सीमासम्म बाटो पुर्याउने दाबी गरे। 

उनले सडक निर्माण गर्दा भारतले आफ्नै भूमिमा निर्माण गर्नु पर्ने बताउँदै त्यसको बहानामा नेपाली भूमि मिच्न नपाउने बताए। 

‘भारतले हाम्रो भूमिबाट लगेर चीनको सीमासम्म बाटो जोड्छ, हामीले सीमासम्म जोड्यो भने उलाई चित्त दुख्छ, के भएको त्यो?’ उनले भने, ‘हाम्रो भूमि नमिचिकन आफ्नो भूमिबाट पर्खाल लगाउन, नदी नियन्त्रण गर्न भारत सरकारलाई आग्रह गर्न चाहन्छौँ।’

भारतीय पक्षले सडक निर्माणको क्रममा गराएको विस्फोटमा नेपाली बालकको मृत्यु भएको घटनामा ओलीले दुःख व्यक्त गरे। नेकपा एमालेले आवाज उठाएपछि भारतीय कम्पन्नीले गल्ती स्वीकार्दै क्षतिपूर्ति दिन तयार भएको उनको दाबी छ।

‘कम्पनीले गल्ती स्वीकार गरेको छ, सरकार बोलेर होइन, हामी बोलेर हो,’ उनले भने, ‘सुन्नेबित्तिकै वारिका जनतालाई सूचना नदिई त्यस्तो काम गर्नु गलत भयो, यसमा क्षमा माग्नु पर्छ, क्षतिपूर्ति दिनुपर्छ भनेर एमालेले आवाज उठायो।’

भारतले नक्कली खोल्सोलाई महाकाली नदी बनाएर वर्षौंदेखि नेपाली भूमि हडपेको ओलीको आरोप छ।

‘एउटा नक्कली तिरतिरे खोल्सीलाई महाकाली नदी, एउटा डोबिल्को बनाएर त्यसलाई काली दह, एउटा मन्दिर बनाएर काली मन्दिर भनेर त्यहीँबाट महाकाली उत्पत्ति भएको भनिएको छ,’ उनले भने, ‘खोला एकातिर छ तिरतिरे अर्कातिर छ, खोल्सीलाई सीमा भनेर नेपालीलाई झुक्याउन मिल्दैन। कालापानी, लिम्पियाधुरा गुमाएको ६० वर्ष भयो, अब फिर्ता हुनुपर्छ। यो राष्ट्रिय अभिभारा हो।’

बडूमाथि कटाक्ष
ओलीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता एंवम् उद्योगमन्त्री दिलेन्दप्रसाद बडूमाथि कटाक्ष गरे। 

‘दिलेन्द्र बडूजीले मन्त्री भएर के गर्नु भयो?’ ओलीले भने, ‘कालापानीको ‘क’ भन्ने आँट गर्नुभयो? काठमाडौँमा हुँदा दार्चुला सम्झनुभयो? भोट चाहिएका बेला दार्चुला सम्झनु भयो होला, तर काठमाडौं हुँदा दार्चुला सम्झनुभएन।’

गठबन्धनमाथि हमला
पाँच दलीय गठबन्धनलाई ओलीले स्वार्थी गठजोडको संज्ञा दिए। उनले गठबन्धनलाई एमालेको जस्तो जनसागर उर्लिएको आमसभा गरेर देखाउन चुनौती दिए।

‘यो साततिर फर्किएका सात दल मिलेर बनाउने स्वार्थी गठजोड छ, यो चुनावमा स्थिरता र स्थायित्वको लागि काम गर्ने शक्ति निर्माण गर्नु जरुरी छ,’ उनले भने, ‘गठबन्धनले होइन, नेकपा एमालेजस्तो राष्ट्रभक्त शक्तिले चुनाव जित्नुपर्छ।’

राष्ट्रिय शक्तिको निर्माण आवश्यक रहेको बताउँदै ओलीले सरकार टाला जोडेर पुतली बनाउने कुरा नभएको बताए। 

‘एमालेको जस्तो राष्ट्रिय शक्तिको बहुमतको सरकार बनाउनु पर्छ, लिम्पियाधुरा लिपुलेक सहितको हाम्रो भूमि फिर्ता ल्याउने छौँ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘सुकुम्बासी, युवा, पछाडि परेका जनताको समस्या समाधान गर्ने छौँ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad