सुदूरपश्चिम


चाडपर्व सकिएसँगै भारत फर्किंदै युवा

चाडपर्व सकिएसँगै भारत फर्किंदै युवा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार ६:५५, कैलाली

दसैँ र तिहारजस्ता महत्त्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन्। 

मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन्। चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन्। 

सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो। हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ। 

लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए। 

“नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ”, उनले भने।

भारतको पञ्चाबमा काम गरिरहेका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताए। 

गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन्।

दसैँ र तिहार मनाउन घर फर्किएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन्। “यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन”, उनले भने। 

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका सहरमा जाने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad