चितवनमा सत्ता गठबन्धनलाई जिताउन सक्रिय रहेका नेपाली कांग्रेसका उपसभापति राजिव न्यौपानेले २ नम्बर क्षेत्रमा रवि लामिछानेलाई जित्नबाट रोक्ने दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर चितवन २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका रविको आक्रामक चुनावी अभियानप्रति लक्षित गर्दै न्यौपानेले उनलाई रोक्न गठबन्धन र एमाले गाउँ गाउँ गइरहेको बताए।
‘चटकेले भिड जम्मा गरेजस्तै मानिस जम्मा गरेर भाषण गर्दैमा सबैले भोट हाल्दैनन्,’ रविको अभियानप्रति लक्षित गर्दै न्यौपानेले भने, ‘हामी गाउँ गाउँमा गइरहेका छौँ, कसले भोट हाल्छ कसले हाल्दैन भन्ने विश्लेषण गरिरहेका छौँ।’
उनले रविलाई रोक्न गठबन्धन र एमाले एक ठाउँ रहेको दाबी गरे।
‘रविले जसरी मान्छेलाई भड्काउन खोजेका छन्, त्यो भड्कावलाई रोक्न लोकतान्त्रिक वाम गठबन्धन र एमाले दुवै गाउँमा केन्द्रिकृत छन्,’ उनले भने।
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन्। न्यौपानेले चितवन २ मा गठबन्धन अगाडि र एमाले पछिपछि रहेको दाबी गरे।
चितवन १ मा एमालेका सुरेन्द्र पाण्डे र गठबन्धनका तर्फबाट कांग्रेसका विश्व पौडेलबीच प्रतिस्पर्धा रहेको न्यापानेले नेपालखबरसँगको वार्तामा बताए।
‘चितवन १ मा गठबन्धनको प्रतिस्पर्धा एमालेसँग नै हो’, न्यौपाने भन्छन्, ‘तर एमालेभित्रको किचलो र एमालेका उम्मेदवार पटक पटक परिषण भैसकेकाले गठबन्धनका लागि परिणाम निकाल्न गाह्रो छैन।’
चितवन ३ मा माओवादीका उम्मेदवार डा भोजराज अधिकारीप्रति रुचान बढ्दै गएको न्यौपानेले दाबी गरे।
चितवन ३ मा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेर संघमा उठेका दिनेश कोइरालाले एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटको चक्कर लगाइरहेको आरोप न्यौपानेले लगाए।
‘उनी रुपमा कांग्रेसको विद्रोही भनिएपनि सारमा बालकोटको चक्कर लगाइरहेका व्यक्ति हुन्, डेढ दुई वर्षदेखि नै,’ न्यापानेले भने, ‘उनले बालकोटतिर दिशा सोझ्याइसकेपछि उनीसँग निकट कांग्रेसका केही कार्यकर्ता झसङ्ग भएका छन्। एक दिन उनीपनि झसङ्ग हुन्छन्।’
न्यापानेले एमालेको संरचनाभित्र पनि गठबन्धन राम्रोसँग पसिसकेको दाबी गरे।

प्रतिक्रिया