ad ad

राजनीति


‘काउन्टडाउन’ मंसिर ४ : यी कारण लाग्न सक्छ एमालेलाई धक्का

ओलीले बहुमत दाबी गरिरहँदा उम्मेदवारीको तनाव
‘काउन्टडाउन’ मंसिर ४ : यी कारण लाग्न सक्छ एमालेलाई धक्का

फाइल तस्बिर


सागर न्यौपाने
कात्तिक ११, २०७९ शुक्रबार २०:१३, काठमाडौँ

यही १८ कात्तिकमा नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा चुनावको प्रचार अभियान सुदूरपश्चिम प्रदेशबाट सुरु गर्दैछ।

अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरबाट दार्चुलाको खलंगा पुगेर प्रचार अभियान घोषणा गर्दैछन्। भारतले मिचेको भूमि समेटेर चुच्चे नक्सा जारी गरेको स्मरण गर्दै ओलीले दार्चुला पुगेर राजनीतिक सन्देश दिन लागेका हुन्।

उनले त्यही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गर्नेछन्। 

एमाले अध्यक्ष ओली एकैदिन तीनठाउँका चुनावी सभालाई सम्बोधन गर्ने तालिका आउँदौ गर्दा पार्टीभित्र उम्मेदवारी चयनबाट देखिएको असन्तुष्टि अझै शान्त हुन सकेको छैन। नेताहरु अझै पनि टिकट नपाएको तितो पोखिरहेका छन्। 

अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले ‘फाइनल’ गरेको उम्मेदवारीप्रति दर्जन बढी जिल्लामा असन्तुष्टि सतहमै आएको छ।

यहीकारण जनमत र संगठन बलियो हुँदाहुँदै पनि एमालेमा स्थानीय तह निर्वाचनमा जस्तै भोट ‘ट्रान्सफर’को जोखिम रहेको नेताहरु बताउँछन्।

मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधि सभातर्फ एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ।

त्यसमध्ये केही जिल्ला र क्षेत्रमा उम्मेदवार बनाइएका नेताहरुको ‘सेलेक्सन’मा गडबडीका कारण मतपरिणाममा असर पर्ने चिन्ता नेताहरुमा छ। 

‘उम्मेदवारी चयनले हाम्रो पार्टीभित्र देशभरको चुनावी परिणामलाई असर गर्ने चिन्ता छ,’ एकजना पदाधिकारीले नेपालखबरसँग भने, ‘जनमत र संगठन बलियो भएर मात्रै के गर्नु, नेता परिचालन हुने वातावरण बनेको छैन।’ 

सत्ता गठबन्धनसँग भिड्न एमालेले जसपा र राप्रपा लगायत दलसँग चुनावी तालमेल गरेको छ। अन्य दलका केही नेतालाई उठ्न सूर्य चिह्न दिएको छ।  

तर, सांगठनिक रुपमा काम नगरेका,  पार्टीको विधि र प्रक्रिया नबुझेकालाई उम्मेदवार बनाउँदा आफ्नै मत जोगाउन कठिन हुने ती नेताले दाबी गरे। 

‘हामीले आफ्नै मत जोगाउन सके जित्न कठिन थिएन,’ ती नेताले प्रश्न गर्दै भने, ‘केही उम्मेदवार यस्ता बनाइयो कि जसले न संगठन बुझेका छन्, न साथीहरुलाई परिचालन गर्न सक्छन्, त्यस्ताले कसरी गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्छन्?’

एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ अब उम्मेदवारी चयनको कुरा नै ‘डेट एक्स्पाएर’ भइसके को बताउँछन्।

उनले केन्द्रको अन्तिम निर्णय कार्यानवयन भइसकेकोले अब उम्मेदवारी चयनबारे चर्चा गर्नुको अर्थ नभएको बताए।

‘हामी चुनावमा केन्द्रित भइसक्यौँ, उम्मेदवारी चयनप्रति हिजो जे भए पनि अब त्यस्तो केही छैन,’ गुरुङले नेपालखबरसँग भने, ‘केन्द्रबाट निर्णय भएपछि भयो, त्यता फर्किएर फाइदा पनि छैन। ‘लोकल इलेक्सन’जस्तो अन्तर्घात हुने सम्भावना पनि कम छ।’

उनी अब चुनावमा एक भएर माथिदेखि तलसम्म गाउँ केन्द्रित हुने बताउँछन्। 

उपमहासचिव गुरुङले केन्द्रको टिकट वितरणको कमजोरी ढाकछोप गरे पनि एमालेकै मतदाताको मनोविज्ञान भिन्न भएको र त्यही कुराले नतिजा उल्टने सम्भावनालाई नजरअन्दाज गर्न नहुने असन्तुष्टहरु बताउँछन्।

उनीहरुको तर्कमा विश्वास गर्ने हो भने यसपटक एमालेको नतिजा फेरबदलमा टिकट वितरण पहिलो ‘फ्याक्टर’ बन्न सक्छ।

२१ असोजमा अध्यक्ष ओलीले दुवै तहका उम्मेदवारको नाम ‘फाइनल’ गरेका थिए। 

विभिन्न कमिटीबाट सिफारिस भएका भएका नामलाई छनोट गरिएको थियो।

तर, उम्मेदवारी चयनमा कमिटीको सिफारिसलाई बेवास्ता गरिएको भन्दै केही क्षेत्र र जिल्लामा असन्तुष्टि चुलिएको छ। 

एमालेको उम्मेदवारी छनोटको अन्तिम निर्णय लिने तीन नेता। तस्बिर : ओलीको सचिवालय

जसले निर्वाचन परिणामलाई असर गर्ने असन्तुष्ट पक्षका नेताहरु दाबी गर्छन्। 

तर आफ्ना उम्मेदवारविरुद्ध लागे वा असहयोग गरे जुनसुकै कडा निर्णय गर्ने रणनीति लिने चेतावनी एमाले नेतृत्वले दिएको छ।

अध्यक्ष ओलीले पनि सबै उम्मेदवारलाई खुलेर सहयोग गर्न निर्देशन जारी गरेका छन्।

निर्देशनको अवज्ञा हुनसक्ने एमाले नेताहरु बताउँछन्। त्यसको मुख्य जिम्मेवारी पार्टी केन्द्रले लिनुपर्ने उनीहरुको तर्क छ।

एमालेले मंसिर ४ गते तय भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सांगठनिक र कांग्रेसको असन्तुष्ट पक्षको मत तानेर धेरै ठाउँ जित्ने रणनीति बनाएको देखिन्छ।

अन्य पार्टीको मत चोर्ने योजना बनाएको एमालेलाई ‘बागी नदिएका’ तर उम्मेदवारी चयनप्रति असन्तुष्ट नेता भारी पर्नसक्ने खतरा टरिसकेको छैन।

प्रदेश १ मा मोरङ, झापा, सुनसरी लगायतका केही संघीय र केही प्रदेश सभा उम्मेदवार चयनप्रति नेताहरु रुष्ट छन्।

कतिपय ठाउँमा केही नेताहरुले विद्रोह नै गरेका छन्। मोरङ ५ मा एमालेले जसपाका राजकुमार यादवलाई सघाउने भएपछि योगेन्द्र मण्डल बागी उठेका छन्।

अर्कातिर सुनसरी १ मा पनि मनोज मेयाङ्बोले विद्रोह गरेका छन्। टिकटलाई नै लिएर मोरङका एमाले सचिव रुपेश खतिवडाले पदबाट राजीनामा नै दिएका छन्। 

एमाले प्रदेश १ कमिटी अध्यक्ष तुलसी न्यौपानेले केही नेताहरु असन्तुष्ट भएको स्वीकार गरे।

‘सुरुमा एक दुई ठाउँबाट साथीहरुले असहमति, असन्तुष्टि र विरोध जनाउनुभएको सत्य हो,’ न्यौपानेले भने, तर, अहिले त्यो हल गरिसकेका छौँ।’

त्यही प्रदेशका अर्का नेता भन्छन्,- ‘केन्द्रको नीति भन्दै तर्साउँदै जबर्जस्ती गरेर बाहिर मिलेको देखाएको मात्रै हो, सांगठनिक व्यक्तिलाई बाहिर राखेर गरिएको निर्णयको परिणाम केही दिनपछि मात्र थाहा हुन्छ।’

न्यौपानेले प्रदेशको असन्तुष्टिले संघलाई र संघको असन्तुष्टिले प्रदेशलाई असर पर्ने भएकोले त्यसतर्फ सोचविचार गरिएको बताए। 

‘राजकीय  जिम्मेवारीप्रति नेताको आकर्षण हुनु एउटा कुरा भयो, पार्टीमा सांगठनिक क्षमता भएका सबै साथीलाई एउटै जिम्मेवारी दिने कुरा भएन, सबैलाई अवसर पुर्‍याउनुपर्छ,’ न्यौपानेले थपे। 

उम्मेदवारी चयनले समस्या पार्ने अर्को प्रदेश हो मधेश।

८ जिल्ला, संघीय ३२ र प्रदेश ६४ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा पुराना नेतालाई अवसर नदिइएको र योगदानको कदर नभएको भन्दै एउटा पंक्तिले पार्टी निर्णयले समस्या परेको बताइरहेको छ। 

धनुषा, बारा, रौतहट, सप्तरी र सर्लाही लगायतका केही क्षेत्र केन्द्रको केन्द्रीय निर्णयकै कारण गुमाउने खतरा बढेको उनीहरुको चिन्ता छ।

‘समग्रमा केही जिल्ला र क्षेत्रमा परिवारमोह र पैसाकै कारण पुराना नेतालाई अवसर नदिएर अवमूल्यन गरिएको साँचो हो,’ एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘यसले केही क्षेत्रको परिणाममा समस्या पार्न सक्छ। तर, बाहिर हल्ला गरिएको जस्तो सबै असन्तुष्ट भन्ने होइन।’

बागमती प्रदेशमा पनि उम्मेदवारी चयनप्रति नेताहरु खुशी छैनन्।

उपत्यकाको काठमाडौं ७, १० र ललितपुर ३ मा पनि नेताहरु रुष्ट छन्।

काठमाडौं ७ मा श्यामकुमार घिमिरेविरुद्ध एमालेकै रामवीर मानन्धरले बागी उम्मेदवारी दिए।

यस्तै हिमेश केसीले टिकट पाएको १० मा पनि नेताहरु असन्तुष्ट छन्।

ललितपुर ३ मा अमृत खड्का उम्मेदवार छन्। त्यस क्षेत्रमा बाबुराम थापाले टिकट पाउने चर्चा थियो।

शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भइसकेकाले उनी जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रुपमा चिनिन्छन्।

तर, टिकट खड्काले पाए। यसले एमालेको एउटा तप्का निकै रिसाएको छ। 

सिन्धुपाल्चोक १ मा अरुण नेपालले टिकट पाउने चर्चा चले पनि अन्तिममा सरेश नेपालले फुत्काए।

अरुण एमालेभित्र निकै पुराना, अनुभवी र सांगठनिक नेताका रुपमा सिन्धुपाल्चोकका नेताहरुले चिन्ने नेतामा पर्छन्। तर, सरेशले टिकट पाएपछि त्यहाँ पनि असन्तुष्टि छ।

चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता गरेर क्षेत्र नम्बर ३ मा एमालेले कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि त्यहाँका एमाले कार्यकर्ता रिसाएका छन्।

‘माओवादी अध्यक्ष प्रचण्डले यो क्षेत्र छोडेपछि रामप्रसादजी जित्ने उम्मेदवार हुनुहुन्थ्यो, हाम्रो जनाधार पनि बलियो हो,’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टीले कांग्रेसको विद्रोहीलाई समर्थन गर्‍यो, जुन दुर्भाग्य हो, कांग्रेस–कांग्रेस ‘फाइट’को फाइदा माओवादीकै उम्मेदवारले लिने सम्भावना छ।’

एमालेबाट मकवानपुर १ मा रामेश्वर रानाको नाम सिफारीस भएको थियो।

तर, केन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई त्यो क्षेत्र छोडिदियो। ओलीले थापालाई टिकट दिएपछि निवर्तमान सांसद कृष्णप्रसाद दाहालसहितको पंक्ति असन्तुष्ट छ।

त्यसले मकवानपुरका एमालेहरु असन्तुष्ट मात्र छैनन्, पञ्चेलाई मत दिन नसक्ने बताउन थालेका छन्।

जसको सिधा असर निर्वाचन क्षेत्रमा पर्ने नेताहरु स्वीकार गर्छन्।

एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी पपुलर र जित्ने उम्मेदवार छानेर टिकट दिएकाले समस्या नभएको दाबी गर्छन्।

‘खड्काजी ललितपुरमा पपुलर हो, जित्ने स्थितिमा हुनुहुन्छ, प्रोब्लम होइन,’ अधिकारीले भने, ‘चितवनमा गठबन्धन परास्त गर्न विद्रोही कांग्रेसका दिनेश कोइरालालाई सघाउने निर्णय गरिएको हो। मकवानपुरमा कमल थापाले सूर्य चिन्हमा उठ्ने भएपछि दिइएको हो।’

एमालेमा उम्मेदवारीले कुनै समस्या नहुने तर्क उनले गरे। ‘एमाले पार्टीभित्र उम्मेदवारीले समस्या हुँदैन, अनुकूलता हुन्छ। चुनाव हो, सबैले उठ्न रहर गर्नु सामान्य भयो,’ अधिकारीले थपे।

यस्तै यस्तै गण्डकीमा कास्की, लमजुङ लगायतका नेताहरु टिकट वितरणप्रति खुशी छैनन्।

मुख्यमन्त्री बन्न खोजेका पृथ्वीसुब्बा गुरुङले संघीय टिकट पाएपछि त्यहाँ एउटा पक्षका नेताहरु असन्तुष्ट छन्।

यसैगरी लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका केही जिल्ला जिल्ला र क्षेत्र, कर्णालीका सुर्खेत, दैलेख, कालिकोट र जाजरकोट तथा सुदुरपश्चिममा  कञ्चनपुर, कैलाली, अछाम लगायतका जिल्ला र क्षेत्रमा असन्तुष्टि छ। 

केही नेताले पार्टी नै छोडेको घोषणा गरेका छन्, केही नेता पार्टी नछोडे पनि बाहिर खुल्न चाहेका छैनन्।  

अध्यक्ष ओलीले केही नेताहरुलाई निषेध गर्ने नीति लिएको र त्यसले परिणामलाई गम्भीर धक्का लाग्ने केही नेताहरुको विश्लेषण छ।

अध्यक्षले टिकट वितरणमा मनलाग्दी गर्दा तल्लो तहको मनोविज्ञानमा हेक्का नराखेको उनीहरु बताउँछन्। एमालेलाई धक्का लाग्ने उनीहरुको चेतावनी छ। 

एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख गुरुङले कांग्रेसभित्रको असन्तुष्ट पक्षको ३० प्रतिशत मत एमालेका उम्मेदवारलाई खस्ने दाबी गरे।

स्थानीयको अन्तर्घात यो चुनावमा नहुने र नयाँ उम्मेदवारालाई अवसर दिइएकोले अवसर नपाउने नेताले विरोध गर्दैमा असर नपर्ने उनको भनाइ छ।

‘यस पटक कांग्रेसको ३० प्रतिशत मत हामीले पाउँछौँ, स्थानीय तह भन्दा ठूलो कांग्रेसभित्र झगडा छ,’ गुरुङले भने, ‘हामीले नयाँलाई अवसर दिएका छौँ, जित्ने फिक्सले टिकट पाउनुभएको हो। नपाउनेले विरोध गरेपनि केही हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .