नेपाली कांग्रेसकी संघीय प्रतिनिधिसभा सदस्य डा. डिला संग्राैलाले नेकपा नेतृत्वकाे सरकार हरेक क्षेत्रमा असफल हुँदै गएकाे बताएकी छिन्। मंगलबार पत्रकारसम्मेलन गर्दै सांसद संग्राैलाले नेकपाले सर्वहारा र मजदुरकाे नाममा विकृत पुँजीवाद (क्राेनी क्यापितालिज्म)लाई अंगालाे मारिरहेकाे आराेप लगाएकी हुन्।
उनले भनिन्, 'नेकपा नेतृत्वको दुइ तिहाई सरकार अहिले लगभग हरेक क्षेत्रमा असफल हुँदै गएको छ। सर्वहारा तथा श्रमिकको नाममा शासन गर्ने तर क्राेनी क्यापिटालिज्मलाई अंगालो मार्ने यो सरकारले हरेक क्षेत्रमा भ्रस्टाचारलाई बढावा दिइरहेको छ।'
सरकारले जनताका विविध समस्यामा बेवास्ता गरेकाे उनकाे भनाइ छ। 'हरेक दिनजसो सडक दुर्घटनामा सर्वसाधारण, निर्दोष जनताको ज्यान गइरहेको छ तर सरकार कानमा तेल राखेर सुतेको छ।'
यही पुस ४ गतेबाट सुरु हुन गइरहेको संसदको हिउंदे अधिवेशनमा खासगरी श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न कांग्रेसले जोडदार आवाज उठाउने उनकाे भनाइ छ। उनले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल एउटा श्वेतपत्र जारी गर्न सरकारकाे ध्यानाकर्षण समेत गराइन्।
यस क्षेत्रका समस्याहरूको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन पनि उनले सरकारसँग आग्रह गरिन्। सरकारले युएई, मलेसिया, जापान र मरिसस लगायतका श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता, सम्झदारी, सहमति गरे पनि कार्यान्वयन हुन नसकेकाे, मेनपावरले शुल्क असुल्न नछाडेकाे, जापान जाने कामदारकाे भाषा परीक्षा र सीप परीक्षण प्रक्रिया झन्झटिलाे भएकाे, सम्झाैताअनुसार गन्तव्य मुलुकले राेजगारी प्रावधान लागू नगरेकाे, श्रम स्वीकृति सहज गर्न नसकेकाे, सरकारी निकायकाे कार्यसम्पादनमा कमी आउँदा सेवाग्राही मर्कामा परेकाेजस्ता समस्याबारे उनले बताइन्। त्यस्तै उनले श्रम सहचारी नियुक्ति प्रक्रिया नयाँ वा पुरानो कार्यविधि कुन अनुसार गर्ने तयारी भएको भन्दै सरकारसँग जानकारी माग गरिन्।
त्यस्तै सामाजिक सुरक्षा याेजना कार्यक्रम अलपत्र हुने देखिएकाे, राेजगारदाता र श्रमिक उल्लेख्य रूपमा ल्याउन नसकिएकाे र मन्त्रालयले उनीहरूलाई ठूलाे संख्यामा ल्याउने गरी कार्यक्रम बनाउन नसकेकाे उनकाे आराेप छ।
सामाजिक सुरक्षा योजनालाई सफल बनाउन सरकारले व्यवसायीलाई फकाउने, थर्काउने वा के रणनीति लिएर काम गरिरहेको भन्ने प्रष्ट पार्न नसकेको उनकाे भनाइ छ। यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम आर्थिक वर्षको मध्यसम्म पनि रोजगारी सिर्जना र बेरोजगारका लागि नयाँ कार्यक्रम ल्याउन नसकेको उनकाे आराेप छ।
सांसद संग्राैलाले सरकारले श्रमिकले न्यूनतम ज्याला कार्यन्वयन गर्न गत वर्ष नै कार्यक्रम ल्याए पनि सबै श्रमिकले न्यूनतम पारिश्रमिक समेत पाउन नसकेकाे बताउँदै यसका लागि मन्त्रालयले गर्नुपर्ने श्रम अडिटको प्रक्रिया मन्त्री परिवर्तनसँगै सुस्ताएको आराेप लगाइन्।

प्रतिक्रिया