नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट पोलिटब्युरो सदस्य रामकुमार शर्मा नयाँ यात्राको खोजीमा छन्। उनी नेकपा एमाले र जनता समाजवादी पार्टीमध्ये एकमा जाने गरी वार्तामा छन्।
महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेश सभा 'ख' मा माओवादीले दिएको टिकट पनि खोसेपछि उनी प्रचण्डसँग रुष्ट बनेर पार्टी नै छाड्ने निर्णयमा पुगिसकेका छन्।
माओवादी अहिले ‘मिसन पोलिटिक्स’ मा नरहेकाले जुन पार्टीमा ठूलो पद मिल्छ, उतै जाने निष्कर्षमा आफू पुगेको उनले बताए।
‘मिसन पोलिटिक्स गर्ने यहाँ कुनै पनि पार्टी छैनन्। एउटा समय हामी माओवादीहरु सिद्धान्त, विचार, आदर्श र मूल्य/मान्यताका लागि राजनीति गर्थ्यौँ। अब त्यो अवस्था रहेन,’ शर्माले नेपालखबरसँग भने, ‘प्रचण्डले मलाई धोका दिएपछि अब माओवादीमै रहनुपर्ने बाध्यता छैन। म एमाले र जसपा नेतृत्वसँग समानान्तर छलफलमा छु। जता मेरो योग्यता र क्षमताअनुसारको पद मिल्छ, उतै लाग्ने निष्कर्षमा पुगेको छु।’
कांग्रेस, एमाले र मधेशवादी दलभन्दा माओवादी अब कुनै पनि अर्थमा भिन्न नरहेको शर्माले बताए।
‘यो अवस्थामा अब माओवादीमै बसिरहन जरुरी छैन,’ शर्माले भने, ‘कांग्रेस, एमाले, मधेशवादी दल र माओवादीमा कुनै फरक छैन। माओवादीसहित सबै पार्टीले राजनीतिलाई व्यवसाय बनाएका छन्। पोलिटिक्स कमर्सियल बन्यो। म मात्रै किन इमानदार बन्नु?’
अब प्रचण्डसँग उधारोमा सहमति गरेर माओवादीमा नबस्ने उनले बताए।
‘अब नगदमा मात्रै प्रचण्डसँग सहमति हुन्छ। उहाँसँगको छलफलमा पनि मैले यो कुरा प्रस्ट रुपमा राखेको छु', उनले भने, 'अब पार्टीको स्थायी समिति र मधेश प्रदेशमा पार्टी प्रमुखको जिम्मेवारी पाए मात्रै माओवादीमा रहन्छु, नत्र रहन्नँ।’
उनले प्रचण्ड, केपी ओली र उपेन्द्र यादवसँग आफूले समानान्तर रुपमा पदको ‘बार्गेनिङ’ गरिरहेको खुलाएका छन्।
माओवादीप्रति वितृष्णा बढेपछि आफूले एमाले अध्यक्ष ओली, उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र नेता विष्णु रिमालसँग एमालेमा प्रवेश गर्दा प्राप्त हुने पदबारे छलफल गरेको उनले सुनाए।
‘उहाँहरुसँग लामै कुरा भएको छ। केही दिनअघि भण्डै अढाई घण्टै कुरा भयो,’ शर्माले भने, ‘एमालेले मलाई स्थायी समिति सदस्य बनाएर मधेशको नेतृत्व दियो भने त्यता लाग्न सक्छु।’
उनले प्रचण्ड र ओलीको टिमसँग भन्दा उपेन्द्र यादवसँग आफ्नो सकारात्मक ढंगले कुरा भइरहेको बताए।
‘प्रचण्ड र ओलीजीको भन्दा उपेन्द्रजीका कुरा निकै सकारात्मक छन्,’ शर्माले उक्त प्रसंग कोट्याउँदै भने, ‘उहाँले पहिला पनि म अध्यक्ष र तपाईं महासचिव भएर मधेशी जनअधिकार फोरममा काम गरेको हो। फेरि पनि जसपामा त्यसरी सहकार्य गर्न सकिन्छ। म तपाईंलाई पार्टीमा मपछिको दोस्रा वरीयतामा राख्छु भन्नुभएको छ।’
प्रतिक्रिया