राजनीति


धनगढीमा गठबन्धनको कार्यकर्ता भेला : प्रचण्डले थर्काए, देउवाले फकाए

नेपालले ओलीको आलोचनामै समय बिताए
धनगढीमा गठबन्धनको कार्यकर्ता भेला : प्रचण्डले थर्काए, देउवाले फकाए

धनगढीमा आयोजित गठबन्धनको कार्यकर्ता भेला। तस्बिर : रासस


गोकुल जोशी
कात्तिक ६, २०७९ आइतबार १८:१६, कञ्चनपुर

सत्तारुढ पाँच दलीय गठबन्धनलाई यति बेला मंसिर ४ को चुनावमा भोट ट्रान्सफर नुहने चिन्ताले सताएको छ। यो चिन्तालाई पाँच दलका शीर्ष नेताले आफ्ना अभिव्यक्तिमार्फत सतहमा ल्याइरहेका छन्। 

गठबन्धन गरे पनि ‘भोट ट्रान्सफर’ नहुने चिन्ता सबैभन्दा धेरै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा देखिएको छ।

यससँगै बागी उम्मेदवार र असन्तुष्ट कार्यकर्ताको विषय पनि नेताहरुको ‘टाउको दुखाइ’ बनेको छ। 

तल्लो तहमा खटपटबीच नेताहरु कार्यकर्तालाई फकाउन सातै प्रदेशमा पुगेका छन्। गठबन्धन मजबुत रहेको सन्देश दिन तल पुगे पनि उनीहरुले कार्यकर्ता फकाउने भन्दा आफ्नो चिन्ता सतहमा ल्याएका छन्। 

गठबन्धन बनेपछि नतिजा आफ्नो पक्षमा पार्नका लागि ‘लाल सलाम’ ‘जय नेपाल’ भएको छ, भने ‘जय नेपाल’ भन्नेहरु मुठ्ठी उठाउन थालेका छन्। तर पनि गठबन्धनमा अर्को दलको मत नपाएर हारिने डरले तनाव बढाएको छ।

यसै डरलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले बुटवलको कार्यकर्ता भेलाका क्रममा आगामी १०÷१५ वर्षसम्म गठबन्धन रहने बताए।

आगामी निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताउँदै देउवाले आफूहरुको विकल्प अरु हुन नसक्ने बताएका छन्। त्यही कुरा प्रमाणित गर्न नेताहरु प्रदेश दौडाहामा लागेका हुन्। 

यो चुनाव ‘अग्रगमन र प्रतिगमन’बीचको लडाइँ भन्दै सत्तारुढ शीर्षस्थ नेताहरुले गठबन्धनलाई जिताउन संयुक्त आह्वान नै गरेका छन्। 

प्रदेशतहमा भएका कार्यकर्ता भेला प्रशिक्षणभन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना र गालीगलौजमा केन्द्रित थियो। खासगरी प्रचण्ड र माधवकुमार नेपालको मुख्य मुद्दा नै ओली थिए।

प्रचण्डले ओलीलाई फेरि फर्किन नदिन कांग्रेस कार्यकर्ताले हँसिया हथौडामा भोट हाल्न कञ्जुस्याईँ गर्न नहुने बताए।

तर बुटवलको कार्यकर्ता भेलामा ओली सत्तामा त के अलिकति शक्तिमा आए मात्रै आफूले विदेशिने अवस्था आउनेसम्मको डर व्यक्त गरे।

आइतबार सत्ता गठबन्धनले कैलालीको धनगढीमा आयोजना गरेको संयुक्त प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पनि यस्तै दृश्य दोहोरियो।

प्रशिक्षणमा प्रधानमन्त्री देउवा, देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत शीर्ष नेताहरु थिए।

देउवाले प्रशिक्षण कार्यक्रममा टिकट नपाएर असन्तुष्ट रहेका नेताहरु फकाउने प्रयास गरे। सुदूरपश्चिमबाट गठबन्धनलाई भारी मतले जिताएर सरकार बनेमा राजनीतिक नियुक्ति र जागिरमा धेरै भाग पाउने आश्वासन बाँडे।

‘टिकट बाँड्दा अन्याय भएको होला, गठबन्धन हुँदा सबै ठाउँमा कांग्रेसले पाउँदैन,’ उनले भने, ‘भोलि गठबन्धनको सरकार बने राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा नियुक्ति हुन्छ, त्यसका लागि सुदूरपश्चिमले धेरै भाग पाउनसक्छ, त्यसैले गठबन्धनलाई जिताउनु होला।’

संविधानको रक्षाका गठबन्धनले चुनाव जित्नु आवश्यक रहेको देउवाको भनाइ थियो। सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न उनले अपिल गरे।

‘अहिले नेपाल अत्यन्तै गम्भीर मोडमा उभिएको छ, देश कता जाने? संविधान कता जाने भन्ने द्विविधा छ,’ उनले भने, ‘हामीले २००७ सालदेखि लड्दा/लड्दा यो व्यवस्था आएको हो, त्यसैले यो शासन प्रणालीलाई बचाउनका लागि सुदूरपश्चिमको एकता आवश्यक छ।’
अर्कातिर गठबन्धनकै सदस्य प्रचण्डले गठबन्धन कमजोर भएमा देश दुर्घटनामा पर्ने बताए।

‘गठबन्धन संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि बनेको हो, साना कुरालाई थाँती राखेर गठबन्धनलाई जिताउनु आवश्यक छ,’ उनले प्रशिक्षणलाई सम्बोधन गर्दै भने, ‘हामी कमजोर हुनु देश दुर्घटनामा जाने खतरा बढ्नु हो।’

उनले संविधान जोगाउन र प्रतिगमन सच्याउन गठबन्धनलाई भोट हाल्न आग्रह समेत गरे। 

‘वामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूला ठूला परिवर्तन भएका छन्, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो,’ उनले भने, ‘गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला।’

जतिबेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफ्नोबीच शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यतिबेला नै आफूले रुखमा भोट हालिसकेको उनले बताए।

‘जतीबेला शान्ति सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर गर्‍यौँ, त्यतिबेला मैले रुखमा भोट हालिसकेँ। अनि गरिजाबाबुले पनि हँसिया हतौडामा भोट हालिसकेँ,’ प्रचण्डले भने। 

उनले चुनाव चिह्न देख्दा भोट हालौं की नहालौं भन्ने कुरा त्यागिदिन आग्रह गरे।

‘स्थानीय चुनावमा हँसिया हथौडामा भोट हालेकाले रुपमा भोट हालौं नी नहालौं, रुखमा भोट हालेकाले हँसिया हतौडामा भोट हालौं की नहालौं भन्ने कुरा देखियो,’ प्रचण्डले भने, ‘तर, मंसिर ४ को चुनाव प्रतिगमनकारी र संविधानको रक्षाका बीचको चुनाव हो, हात नकमाउन आग्रह गर्दछु।’

उनले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले ‘एमाले’ नभएको जिकिर गर्दै माधवकुमार नेपाललाई ढाडस दिने प्रयास गरे। 

‘अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो,’ उनले अगाडि थपे, ‘विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन।’

उनले २००७ सालदेखि पार्टी र जनताले ठूला ठूला आन्दोलन गरेर राजनीतिक परिवर्तन ल्याएको बताउँदै त्यो बाम पार्टी र काँग्रेसका कारण मात्रै सफल भएको बताए।  

दाहालले गठबन्धनको दाँयाबाँया जाने कार्यकर्तालाई चेतावनी पनि दिए। ‘गठबन्धनमा सहभागी नहुने कार्यकर्ता त्यो पार्टीमा बस्ने हक राख्दैन, हामीले तुरुन्त कारवाही गर्ने भनेका छौं, गरि पनि रहेका छौं’, उनले भने।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकै कारण संविधान जोगिएको बताएका छन्। अधिकांश समय ओलीको विरोधमा खचेकमा नेपालले ओलीलाई बयलगाडा दर्शनका प्रवद्र्वक भनेर व्यंग्य गरे। 

‘बयलगाडा दर्शनका प्रवद्र्धक श्रीमान् केपी शर्मा ओलीजी, उहाँ नै भन्नुहुन्थ्यो नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका गए जस्तै हो,’ नेपालले भने, ‘उहाँको विचारमा राजतन्त्र फाल्नु र गणतन्त्रको स्थापना असम्भव थियो, तर हामीले त्यसलाई सम्भव बनायौँ।’ 

उनले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने समेत बताए। 

‘म कांग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad