नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनलाई भोट दिन आह्वान गरेका छन्।
शनिबार गठबन्धन दलको नुवाकोट काठमाडौँ सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवार बनेका केसीले सो कुरा बताएका हुन्।
अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाइ नजिकको मत दिए पनि दुईदुई पटक संसद् विघटन गरेको र प्रतिपक्षमा पुग्दा संसदमा काम गर्न नदिएको समेत बताए।
`आन्तरिक द्वन्द्वको कारण दुई तिहाइको नजिकको प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने,´ उनले भने, `जुन दिन प्रतिपक्षमा पुग्यो, त्यो दिन संसद् चल्न नदिने अनि किन एमालेलाई भोट दिने ?´
त्यसैगरी आफूहरुले सबै विचारलाई मिलाएर एक बनाउनका लागि गठबन्धन गरेको नेता केसीले बताए।
`हामी किन अहिले गठबन्धनमा छौँ? भिन्नभिन्न विचार लिएर हामी एक भएका छौँ। हामीले प्राप्त गरेको संविधान जोगाउनको लागि गठबन्धन गरेको हो,´ उनले भने।
२०६२-०६३ सालदेखि जब गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचन्डले हात मिलाएर हस्ताक्षर गरेपछि नै गठबन्धन भएको उनले स्मरण गराए।
नुवाकोटको दुवै क्षेत्रबाट गठबन्धनका उम्मेदवारहरुले जितेमा जनमतको कदर गर्दै शिर निहुरिने काम नगर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
Shares

प्रतिक्रिया