रुपन्देहीको तत्कालीन मैनहिया गाउँ विकास समितिका अध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता रंगनाथ गुप्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
रुपन्देही ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सियारी गाउँपालिका वडा नम्बर २ मा बिहीबार आयोजित कार्यक्रममा पूर्व गाउँ विकास समिति अध्यक्ष गुप्तालाई पार्टीको सदस्यता प्रदान गरे।
गुप्ता २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा गाउँ विकास समिति अध्यक्ष निर्वाचित भएका थिए। गत स्थानीय तह निर्वाचनमा गुप्ता लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार थिए।
कार्यक्रममा युवा व्यवसायी मोहित रौनियारसहित सय बढी कांग्रेस प्रवेश गरे। उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री खाणले पार्टी सदस्यता प्रदान गरे।
कार्यक्रममा गृहमन्त्री खाणले दक्षिणी सीमामा बसेका नेपालीहरूले नेपालको सीमा रक्षा गरेको बताए। सीमाको रक्षा गर्ने, मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी भएको उनले बताए।
Shares
प्रतिक्रिया