ad ad

राजनीति


मधेशका यी ५ क्षेत्रमा हुँदैछ हेभिवेट टक्कर

मधेशका यी ५ क्षेत्रमा हुँदैछ हेभिवेट टक्कर

जयन्त ठाकुर
असोज २६, २०७९ बुधबार ७:३२, जनकपुरधाम

मधेश प्रदेशका अधिकांश क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। 

प्रदेशको ५ वटा निर्वाचन क्षेत्रमा हेभिवेट नेताहरुबीचको टक्कर देख्न पाइने भएको छ। 

मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनौती दिएका छन्।

धनुषा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री रघुवीर महासेठलाई पूर्वमन्त्री महेन्द्र यादवले चुनौती दिँदैछन्। 

त्यस्तै सर्लाही क्षेत्र नम्बर २ मा पूर्वमन्त्री राजेन्द्र महतोलाई अर्का पूर्वमन्त्री महिन्द्र राय यादवले टक्कर दिँदैछन्।

धनुषा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री रामकृष्ण यादव र अर्का पूर्वमन्त्री उमाशंकर अरगरियाबी भिडन्त हुँदैछ। धनुषा क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री जुलीकुमारी महतोलाई अर्का पूर्वमन्त्री अनिलकुमार झाले चुनौती दिँदैछन्। 

केन्द्र सप्तरी २ 
यी ५ वटै क्षेत्रमध्ये सबैभन्दा बढी चर्चा सप्तरी २ को छ। जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा. राउतले सप्तरी २ मा मनोनयन दर्ता गराएका छन्। 

चुनावी अनुभव नभएका जनमत अध्यक्ष राउत पहिलो जनतामाझ जाँदैछन्। तर जसपा अध्यक्ष यादवका लागि उनी ठूलै चुनौती हुन्। यी दुई हेभिवेट नेताबीच सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका लोसपाका नेता जयप्रकाश ठाकुरले कडा टक्कर दिने सम्भावना छ।

२०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पराजित गरेका थिए।

उमेशले ११ हजार ५ सय ८० मत मात्रै ल्याउन सकेका थिए। अहिले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका लोसपा नेता ठाकुरले १० हजार बढी मत पाएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा ३ मै दोहोरिने अनुमान थियो। तर, लोसपाले धनुषा ३ मा अनिलकुमार झालाई पठाएर महतोलाई सर्लाही २ बाट उठायो।

लोसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरे पनि यस क्षेत्रमा कुरा मिल्न सकेन। सर्लाही २ मा महतोलाई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्रराय यादवको चुनौती छ।

२०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट यादवले जितेका थिए। 

त्यसबेला उनले २९ हजार १ सय ९१ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जंगीलाल रायले १८ हजार ९ सय ७६ मत ल्याएका थिए। 

त्यस्तै माओवादी केन्द्रका दिनेश रायले ८ हजार ३७ मतत ल्याएका थिए।

नेसपाका अध्यक्ष यादव सर्लाही २ को निवर्तमान सांसद रहे पनि लोसपाका वरिष्ठ नेता महतोको उम्मेदवारी उनका लागि ठूलो चुनौती छ। 

यस क्षेत्रमा जातीय समिकरणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले महतोका लागि त्यति सहज छैन। यादव बाहुल्य क्षेत्र रहेकाले यहाँको सबैभन्दा मजबुत उम्मेदवार नेसपाका अध्यक्ष यादव नै हुन्।

तर सत्ता गठबन्धनमा मिसिएको लोसपाका वरिष्ठ नेता महतोले कांग्रेसका नेता जंगीलाल रायलाई साथ लिएर यादवको मत आफ्नो पक्षमा पार्ने रणनीति बनाएका छन्। 

कांग्रेस नेता राय २०७४ सालको प्रतनिधिसभा निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेकाले उनको साथ महतोले पाएपछि मजबुत भएको अनुमान छ।

रौतहट १ का निवर्तमान सांसद लोसपा नेता अनिलकुमार झाले एमाले नेतृ जुलीकुमारी महतोलाई चुनौती दिन धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

यी दुई हेभिवेट नेताबीच यहाँ पनि कडा टक्कर हुने सम्भावना छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम यही क्षेत्रमा पर्ने भएकाले दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्। 

२०७४ को निर्वाचनमा लोसपाका वरिष्ठ नेता महतो र कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिबीचको प्रतिस्पर्धाका कारण यो क्षेत्र चर्चाको शिखरमा थियो। 

त्यस निर्वाचनमा महतोले निधिलाई पराजित गरेका थिए। महतोले ३० हजार ७७ सय ५० मत ल्याउँदा निधि २७ हजार ८ सय ४७ मतमा समेटिएका थिए। 

तर यस पटक यहाँबाट न महतो छन् न त निधि दोहोरिए। तर जुली र झाको उम्मेदवारीले यो क्षेत्र चर्चाको केन्द्रमै रहेको छ।

२०७४ मा रौतहट १ बाट निर्वाचन जितेका झालाई व्यवस्थापनकै लागि सत्ता गठबन्धनले धनुषा ३ मा उनलाई हटाएको हो। 

तर जुली स्थानीय नेतृ रहेकाले यहाँ सबैभन्दा मजबुत उम्मेदवार उनी नै रहेको मतदाता बताउँछन्। 

यद्यपि लोसपासँग पनि यस क्षेत्रमा ठूलै मत छ। कांग्रेसी मतको साथ झाले पाउने भएकाले जुलीलाई लोसपाका झाले कडा टक्कर दिन सक्छन्। 

धनुषा ४ मासमेत दुई पूर्वमन्त्रीबीच साखको लडाईँ हुँदैछ यहाँ नेकपा एमालेका सचिव रघुवीर महासेठ र कांग्रेस सहमहामन्त्री महेन्द्र यादव आमनेसामने छन्। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेता आमनेसामने हुँदा महासेठ विजयी भएका थिए। 

महासेठ २२ हजार ५ सय ३२ मत ल्याएर विजयी हुँदा कांग्रेसका सहमाहमन्त्री यादवले १९ हजार ९ सय ९१ मत ल्याएका थिए। 

त्यही क्षेत्रमा कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवलाई एमालेमा प्रवेश गराएर उम्मेदवार बनाएपछि यसको असर कांग्रेस नेता यादवलाई पर्ने निश्चित छ।

तर मनोनयनकै दिन एमाले-जसपा गठबन्धनका घटक दल रहेको जसपाका मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवलाई कांग्रेसमा प्रवेश गराएर प्रदेशको उम्मेदवार बनाएपछि कांग्रेस सहमहामन्त्री यादवले जसपाको ठूलै भोट बैंकमा प्रवेश गर्ने बाटो तयार पारेका छन्। 

यी दुई नेताबीच यस पटकको निर्वाचनमा कसले बाजी मार्लान् भन्ने थाहा पाउन चुनावी परिणाम नै कुर्नुपर्ने अवस्था छ।

धनुषा २ मा सहज जीत निकाल्ने अभिप्रायले एमालेले त्यहाँका निवर्तमान सांसद उमाशंकर अरगरियालाई भित्र्यायो। 

एमालेले अरगरियालाई टिकट दिएर धनुषा २ मा प्रतिनिधिसभाको उम्मेदवार पनि बनायो। तर एमालेले सोचेजति सहजै जीत निकाल्न त्यहाँ सम्भव छैन।

अरगरियालाई त्यहाँ चुनौती दिन सत्ता गठबन्धनबाट कांग्रेस नेता रामकृष्ण यादवले उम्मेदवारी दिएका छन्। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यादवले अरगरियालाई चुनौती दिएका थिए। 

तर त्यस निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित निकाले। 

माओवादीबाट निर्वाचन लडेका नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले १८ हजार ७ सय १५ मत ल्याएर निकतम प्रतिद्वन्द्वी बनेका थिए। कांग्रेस नेता यादव १५ हजार ४ सय ४२ मत ल्याएर तेस्रो स्थानमा खुम्चिए।

यस पटकको निर्वाचनम सत्ता गठबन्धन घटक नेकपा एकीकृत समाजवादी पार्टीका नेता झाले पनि उम्मेदवारी दिएपछि यसको फाइदा एमालेका उम्मेदवार अरगरियाले उठाउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .